३१औँ जनयुद्ध दिवसमा समाजवादी कम्युनिस्ट पार्टी नेपालको सन्देश

“क्रान्तिबाट ऊर्जा र प्रतिक्रान्तिबाट शिक्षा लिन जरुरी”
शुक्रबार, फागुन १, २०८२

काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले ३१औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै जनयुद्ध नेपाली जनताको शोषण, उत्पीडन, विभेद र अन्यायविरुद्धको ऐतिहासिक प्रतिरोध भएको उल्लेख गरेको छ।

पार्टीका महासचिव समरजगद्वारा जारी सन्देशमा अर्धसामन्ती तथा अर्धऔपनिवेशिक उत्पादन सम्बन्धको अन्त्य गर्दै स्वाधीन, समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्यसहित जनयुद्ध सुरु भएको स्मरण गराइएको छ। जनयुद्धले नेपाली समाजमा राजनीतिक चेतना र सामाजिक संरचनामा निर्णायक प्रभाव पारेको र गणतन्त्र स्थापना तथा संविधान निर्माणजस्ता उपलब्धि त्यसकै परिणाम भएको पार्टीको ठहर छ।

सन्देशमा जनयुद्धका क्रममा हजारौँ सहिदले सर्वोच्च बलिदान दिएको, कैयौँ नागरिक बेपत्ता तथा अनगिन्ती परिवार पीडित भएको उल्लेख गर्दै उनीहरूको त्यागकै कारण सामाजिक न्यायका मुद्दा राष्ट्रिय एजेन्डामा स्थापित भएको बताइएको छ।

तर जनयुद्धको मूल उद्देश्य नयाँ जनवादी क्रान्ति सम्पन्न गरी स्वाधीन, समृद्ध, समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्नु भए पनि ती आकाङ्क्षा अझै पूरा हुन नसकेको पार्टीको निष्कर्ष छ। “गरिबी, बेरोजगारी, सामाजिक असमानता, भ्रष्टाचार, शिक्षा र स्वास्थ्यमा पहुँच तथा उत्पादनमुखी अर्थतन्त्रजस्ता विषय समाधान हुन नसक्नु अधुरो क्रान्तिको परिणाम हो,” सन्देशमा भनिएको छ।

पार्टीले जनयुद्ध दिवसलाई आत्मसमीक्षाको अवसरका रूपमा लिनुपर्नेमा जोड दिँदै जनयुद्धले उठाएका मूल प्रश्नहरू किन समाधान हुन सकेनन् भन्ने विषयमा इमानदार समीक्षा आवश्यक रहेको उल्लेख गरेको छ। साथै, विचारको सङ्कट समाधान गर्न नसक्दा क्रान्ति अधुरो रहन गएको र त्यसले असङ्गत राजनीतिक परिणाम जन्माएको ठहर पनि व्यक्त गरिएको छ।

“जनयुद्ध दिवसको साँचो सम्मान भनेको क्रान्तिबाट ऊर्जा र प्रतिक्रान्तिबाट शिक्षा लिनु हो,” सन्देशमा उल्लेख छ। सहिदहरूको सपना इतिहासको स्मरणमा सीमित नराखी वर्तमानका चुनौतीसँग जुध्ने दृढ सङ्कल्पमा रूपान्तरण गर्नुपर्ने पार्टीको आह्वान छ।

अन्त्यमा पार्टीले सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता र घाइतेहरूप्रति सम्मान प्रकट गरेको छ। साथै, शोषणरहित, समानतामूलक र समृद्ध नेपाल निर्माणका लागि समाजवादी जनक्रान्तिको यात्रामा एकताबद्ध हुन सबैलाई आह्वान गरिएको छ।634385512_10237475224292670_2228811831407837503_n-1770957628.jpg

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  १०:२४
प्रतिक्रिया दिनुहोस्