आज ३१औँ जनयुद्ध दिवस

शुक्रबार, फागुन १, २०८२

रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टीले रुकुम पूर्वमा विभिन्न कार्यक्रम आयोजना गर्दै आज ३१औँ जनयुद्ध दिवस दिवस मनाउने भएकाे छ।

जनयुद्धको सुरुआत भएको स्थल रुकुम पूर्वमा सहिद तथा बेपत्ता परिवार, घाइते, अपाङ्ग र स्थानीयबासीसँग संयुक्त रूपमा दिवस मनाउन नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार रुकुम पूर्व आइपुगेका छन् ।

वि.सं. २०५२ फागुन १ गते तत्कालीन नेकपा (माओवादी)ले सुरु गरेको जनयुद्ध दस वर्षसम्म चलेको थियो। जनयुद्धका प्रमुख नेता प्रचण्डले पहिलो पटक रुकुम पूर्वमा जनयुद्ध दिवस मनाउँदै छन्।

जनयुद्धको उपलब्धिमध्ये संघीयतापछि बनेको कान्छो जिल्लामध्ये रुकुम पूर्व एक हो। प्रचण्ड आफ्नो नेतृत्वको जनयुद्धको आधार इलाकाबाट समाजवादी क्रान्तिको सुरुवात गर्ने उद्देश्यले रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् ।

भूमे गाउँपालिका–२, खाबाङ बगरमा आज आयोजना हुने जनयुद्ध दिवस कार्यक्रममा नेकपा संयोजक प्रचण्डले सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ। रुकुम पूर्वमा २ सय ५२ जना सहिद रहेका छन्।

राजतन्त्रको अन्त्य र नयाँ जनवादी व्यवस्था कायम गर्ने उद्देश्यसहित तत्कालीन नेकपा (माओवादी)ले २०५२ फागुन १ गते जनयुद्धको सुरुआत गरेको थियो। रुकुमको आठबीसकोट प्रहरी चौकी, रोल्पाको होलरी प्रहरी चौकी, सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकी तथा गोरखाको च्याङ्लीस्थित कृषि विकास बैंकमा आक्रमण गरी माओवादीले जनयुद्ध सुरु गरेको थियो।

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  ०९:१३
प्रतिक्रिया दिनुहोस्