सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट फर्किँदा विमानस्थलमा स्वागत गर्ने राजावादीहरुको तयारीमा प्रशासनले रोक लगाएको छ । निर्वाचन आचारसंहिता लागू रहेकाले यसप्रकारको कुनै पनि कार्यक्रम गर्न नपाइने भन्दै जिप्रकाले रोक लगाएको छ ।
आज एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले विमानस्थल र आसपासमा प्रदर्शन र र्यालीजस्ता गतिविधि गर्ने भनि सामामाजिक सञ्जालमा आएका विषयवस्तुहरुप्रति ध्यानाकर्षण भएको बताएका छन् । यसप्रकारका गतिविधि गर्नका लागि जिप्रकामा अहिलेसम्म कसैले पनि जानकारी नगराएको र पूर्वस्वीकृति नलिएको उनको भनाइ छ ।
निर्वाचन आचारसंहिता लागु भइसकेको हालको अवस्थामा यस्ता प्रकृतिका कार्यक्रम गर्न बन्देज रहेको तथा यस प्रकारका कार्यक्रममा निर्वाचनविरोधी भनिएका समूह समेतको घुसपैठ हुनसक्ने उनले बताएकाम छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘आसन्न निर्वाचनको सन्दर्भ, फागुन ३ गतेको महाशिवरात्रि पर्वको व्यवस्थापन, धार्मिक एवम् साँस्कृतिक आस्थाको सम्मान गर्दै उक्त पर्वलाई भव्य रुपमा सम्पन्न गर्न, अन्तर्राष्ट्रिय विमानस्थल जस्तो अत्यन्त संवेदनशील स्थान र आसपासको क्षेत्र समेतको सुरक्षालाई मध्यनजर गर्दै, विमानस्थलसम्म आवतजावत गर्ने यात्रुहरूको सहज आवागमनलाई सुनिश्चित गर्ने गरी कुनै प्रकारको जुलुस, प्रदर्शन, हडताल, ¥याली, भेला जम्मा हुने जस्ता कार्यहरू नगर्न, नगराउन, सामाजिक सञ्जालका माध्यमबाट यस प्रकारका कार्यहरूलाई प्रेरित गर्ने वा उक्साउने जस्ता गतिविधि नगर्न, नगराउन जानकारी गराइएको छ ।’
निषेधित र संवेदनशील क्षेत्रमा यस प्रकारका कानून विपरीतका कार्यहरूमा संलग्न हुने जो सुकैलाई प्रचलित कानून बमोजिम कारवाही गर्ने चेतावनीसमेत उनले दिएका छन् ।