पश्चिम नेपालमा वर्षा र हिमपात

बुधबार, माघ १४, २०८२

नेपालगन्ज l पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिम नेपालका पहाडी र तराई भूभागमा वर्षा भइरहेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणालीको सबैभन्दा धेरै प्रभाव सुदूरपश्चिम प्रदेशमा छ । बादल क्रमश: पूर्वतिर सर्दै कोशी प्रदेशसम्मै पुगे पनि जति पूर्व गयो त्यति कम प्रभाव छ ।

विभागका अनुसार मंगलबार साँझदेखि नै सुदूरपश्चिमका जिल्लाहरुमा हल्का पानी पर्न सुरु गरेको थियो । रातिदेखि पानीको मात्रा र क्षेत्र दुवै बढेको थियो ।

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै डडेलधुरामा २९.६ मिलिमिटर वर्षा भएको छ । पछिल्लो एक घण्टा यता भने सुदूरपश्चिममा कम र कर्णाली र लुम्बिनी प्रदेशमा बढी पानी परिरहेको छ ।

विभागका वरिष्ठ मौसमविद बरुण पौडेलका अनुसार पानी पार्ने बादल छिटोछिटो पूर्वतिर सरिरहेको छ । यो बादलको प्रभावले पूर्वी पहाडी जिल्लाका भूभागसम्मै वर्षा गराउने पूर्वानुमान छ ।

काठमाडौं उपत्यकामा पनि आज दिउँसो हल्का पानी पर्ने पूर्वानुमान छ । यस्तै हिमाली जिल्ला डोल्पामा फेरि हिमपात सुरु भएको छ ।

माथिल्लो डोल्पाका उच्च स्थानसहित जिल्लाका विभिन्न क्षेत्रमा बुधबार बिहानदेखि वर्षासFगै हिमपात सुरु भएको स्थानीयले बताएका छन् ।

 जिल्लाको उत्तरी क्षेत्रमा पर्ने शे-फोक्सुण्डो गाउँपालिका, डोल्पो बुद्ध गाउँपालिका, छार्का ताङसोङ गाउँपालिका‍लगायत तल्लो डोल्पाको जग्दुल्ला, काइके, मुड्केचुला गाउँपालिका र त्रिपुरासुन्दरी, ठूलीभेरी नगरपालिकाका उच्च स्थानमा हिमपात भइरहेको छ।

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  १०:२१
प्रतिक्रिया दिनुहोस्