सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
नेपालगन्ज l कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/०८३ मा जाजरकोट जिल्लामा थप तीन महत्वपूर्ण पुल निर्माण कार्य सुरु गर्ने भएको छ। यी पुलहरूले भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई वर्षभरि सुरक्षित आवतजावतमा सहजता ल्याउने र स्थानीय यातायात सञ्जाललाई मजबुत बनाउने अपेक्षा गरिएको छ।
मन्त्रालयको बहुवर्षीय योजना तथा स्रोत सुनिश्चितताअनुसार जाजरकोटमा प्राथमिकतामा परेका यी नयाँ पुल आयोजनाहरू निम्नानुसार छन्:
१. कार्कीज्युला सुवाकोट जोड्ने बेलीब्रिज
२. साँधी बिसाउना पक्की पुल निर्माण (कुशे पुल)
३. सानाखोला मोटरपुल निर्माण (जुनीचाँदी–३)
यी आयोजनाहरू बहुवर्षीय ठेक्का प्रक्रियाअन्तर्गत स्रोत सुनिश्चित भएका छन्। जाजरकोट भूकम्पबाट अत्यधिक प्रभावित भएकाले यस्ता पूर्वाधार विकासले पुनर्निर्माण तथा दिगो विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ।
यसबाहेक, भेरी करिडोर (जाजरकोट–डोल्पा सडकखण्ड) अन्तर्गत झिम्री खोला, नलगाड खोला, चौखा खोला, तात्र खोला र तासु खोलामा गरी ५ वटा पुल दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको संघीय भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ। कर्णाली प्रदेशमा पछिल्ला वर्षहरूमा पुल निर्माण तीव्र बनेको छ l २१ महिनामा मात्र ६५ पुल (झोलुङ्गे तथा पक्की) निर्माण भइसकेका छन्।
स्थानीय बासिन्दाले यी पुलहरूले घुमाउरो बाटो कटौती गरी समय र खर्च बचत हुने बताएका छन्। मन्त्रालयले यस्ता आयोजनालाई उच्च प्राथमिकता दिँदै बजेट व्यवस्था गरेको छ l जसले कर्णालीको समग्र यातायात पूर्वाधारलाई मजबुत बनाउने विश्वास गरिएको छ।