दसैँको महानवमी पर्व मनाइँदै

बुधबार, असोज १५, २०८२

प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै छ।

महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ।

दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजाआराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ।

पशुबलि नदिने र शाकाहारीले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन्। अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि छ।

यसैबीच हरेक वर्ष दसैँको महानवमीका दिन मात्र सबैका लागि पूजाआजा एवं दर्शन गर्न खोलिने तलेजु मन्दिर आज खुला गरिएको छ। 

हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा आज लाखौँ भक्तजन पूजाआराधना एवं दर्शनका लागि पुग्ने गर्छन्।

प्रकाशित मिति: बुधबार, असोज १५, २०८२  ०८:२९
प्रतिक्रिया दिनुहोस्