राप्तीसोनारी गाउँपालिका विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा, आश्रयस्थल र उद्धार टोली तैनाथ

सोमबार, भदौ ८, २०८३

बाँके । बाढी, डुबान, कटान र आगलागीलगायत विपद्को जोखिममा रहेको बाँकेको राप्तीसोनारी गाउँपालिका विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहेको छ।

वर्षायाममा राप्ती नदी तथा विभिन्न खहरे खोलामा आउने बाढीका कारण मानव बस्ती डुबानमा पर्ने, खेतीयोग्य जमिन कटान हुने तथा विद्यालय, स्वास्थ्य संस्था र सडकजस्ता संरचनामा क्षति पुग्ने जोखिम रहेको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए। उनले भने, ‘राप्तीसोनारी हरेक वर्ष विपद्बाट प्रभावित हुने गाउँपालिका हो। पछिल्ला वर्षमा जोखिम न्यूनीकरणका लागि पूर्वाधार निर्माण र विपद् प्रतिकार्यका योजना अघि बढाइएकाले जोखिम केही कम हुँदै गएको छ।’

गाउँपालिकाले यस वर्षका लागि विपद् प्रतिकार्य योजना तयार गरेको छ। बाढी तथा डुबान भए प्रभावितको उद्धार गरी सुरक्षित स्थानमा राख्ने, स्वास्थ्योपचार, खाद्यान्न तथा राहत उपलब्ध गराउने र मनोसामाजिक परामर्श दिने तयारी गरिएको अध्यक्ष पौडेलले बताए।

उनका अनुसार स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई २४सैँ घण्टा तयारी अवस्थामा राखिएको छ। वडा कार्यालय, वडा विपद् व्यवस्थापन समिति र गाउँपालिका विपद् व्यवस्थापन समितिमार्फत मनसुनअघि र मनसुनपछि पनि आवश्यक तयारी तथा व्यवस्थापनका कामलाई निरन्तरता दिइएको छ।

विपद् व्यवस्थापनलाई ध्यानमा राख्दै राप्तीसोनारीमा हाल पाँच वटा सुरक्षित आश्रयस्थल सञ्चालनमा छन् भने थप दुई वटा निर्माणको क्रममा छन्। सञ्चालनमा रहेका आश्रयस्थलमा करिब एक हजार ५०० देखि दुई हजार जनासम्मलाई राख्न सकिने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले बाढी पूर्वानुमानमा आधारित कृत्रिम घटना अभ्यास गरी सम्भावित विपद्का लागि पूर्वतयारी र प्रतिकार्य क्षमताको परीक्षण गरेको अध्यक्ष पौडेलले बताए। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले गत वैशाख ३१ गते स्वीकृत गरेको नयाँ कार्यविधि कार्यान्वयन गर्दै राप्तीसोनारी गाउँपालिकाले पहिलोपटक स्थानीय तहका रूपमा नमूना अभ्यास सञ्चालन गरेको हो।

अभ्यासमा बाढीमा परेका नागरिकको उद्धार, प्राथमिक उपचार, सुरक्षित स्थानमा स्थानान्तरण तथा राहत र खाद्यान्न व्यवस्थापन लगायतका गतिविधि प्रदर्शन गरिएको थियो।

बाँकेमा सेभ द चिल्ड्रेनसँगको साझेदारीमा विपद् व्यवस्थापन क्षेत्रमा कार्यरत सामाजिक विकास मञ्चका परियोजना स्रोत व्यक्ति घनश्याम उपाध्यायले कार्यविधिअनुसार नेपालमै पहिलोपटक राप्तीसोनारी गाउँपालिकामा बाढी कृत्रिम घटना अभ्यास गरिएको बताए। उनले अभ्यासले बाढी आएपछि गरिने प्रतिकार्यको क्षमता परीक्षण गर्न सहयोग पुगेको बताए।

उनका अनुसार अभ्यासले विपद्का बेला सुरक्षा निकाय, स्थानीय सरकार, स्वयंसेवक, स्वास्थ्यकर्मी, सामाजिक सङ्घसंस्था र समुदायबीचको समन्वयको महत्त्वसमेत देखाएको छ।

राप्तीसोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरीले बाढी आएपछि उद्धार गर्नुभन्दा पहिले नै समुदायलाई तयार बनाउने, उद्धार टोलीको क्षमता परीक्षण गर्ने तथा आवश्यक उपकरण र जनशक्तिलाई तयारी अवस्थामा राख्ने अभ्यास प्रभावकारी हुने बताए। रासस

प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३  ०८:१२
प्रतिक्रिया दिनुहोस्