यी प्रदेशमा ‘धेरै भारी’ वर्षा हुने सम्भावना

आइतबार, साउन ३, २०८३

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (आइतबार बिहान) देशभर अधिकांश बादल लागेको छ। कोसी र लुम्बिनी प्रदेशका केही स्थानमा, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ।

आइतबार दिउँसोः देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका अधिकांश स्थानमा तथा तराई भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी भूभाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका तराई भूभाग र मधेस प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

रातिः देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका अधिकांश स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका धेरै स्थानमा र तराई भूभागका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा बागमती प्रदेशका हिमाली, पहाडी र तराई भूभाग साथै मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना

आज काठमाडौँ उपत्यकामा पनि पानी पर्ने क्रम जारी रहने मौसमविद्ले बताएका छन्। मौसम महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार अहिले बिहान पनि काठमाडौँ उपत्यकाका कतै कतै हल्का पानी परिरहेको छ। 

‘अहिले बुढानीलकण्ठ, चन्द्रागिरितिर सिमसिम पानी परिरहेको छ, तर यो अब रोकिने क्रममा छ’, उनले आज बिहान ८:२३ बजे नेपालखबरसँग भने, ‘यद्यपि केही बेर मौसम खुलेजस्तो भए पनि फेरि दिउँसो मौसम बदली हुने र अपराह्न र राति वर्षा हुने सम्भावना छ।’  

मौसमविद् ढकालका अनुसार आज काठमाडौँ उपत्यकामा मध्यम वर्षा हुने सम्भावना छ। ‘कतै कतै भारी वर्षा पनि हुन सक्छ तर भारी वर्षाको सम्भावना अलि कम नै देखिएको छ’, उनले भने।  

प्रकाशित मिति: आइतबार, साउन ३, २०८३  ०८:४३
प्रतिक्रिया दिनुहोस्