राप्ती नदीमाथिको पुल निर्माण ७५ प्रतिशत सकियो

शनिबार, असार १३, २०८३

नेपालगन्ज । बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीमाथि निर्माणाधीन पक्की पुलको ७५ प्रतिशत काम सकिएको छ । पुलका हालसम्म भौतिक र वित्तीय दुवैतर्फ करिब ७५ प्रतिशत प्रगति भएको हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय नेपालगन्जले जनाएको छ ।

कार्यालयका प्रमुख लीलाबहादुर भण्डारीले पुल निर्माण स्वीकृत ढाँचा (डिजाइन) अनुसार भइरहेको उल्लेख गर्दै हालसम्म भौतिक र वित्तीय दुवैतर्फ करिब ७५ प्रतिशत प्रगति भएको जानकारी दिए । उनले प्राविधिक अध्ययन र डिजाइनका आधारमा ७०० मिटरको पुल बनिरहेको जानकारी दिँदै स्थानीय जनताले थप ४४० मिटर पुल निर्माण गर्न माग गरेका बताए ।

राप्तीसोनारी गाउँपालिका-६ का वडाध्यक्ष लवराज खरेलले थप ४४० मिटर पुल निर्माण भए यहाँको विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्दै कृषि उपजको बजारीकरणसहित आवागमन सहज हुने बताए। उनले विसं २०७४ को बाढीले यहाँका खला, टेपरी, ढलैयालगायत क्षेत्रमा क्षति पुर्याएपछि स्थानीयको जनजीवन कष्टकर भएको उल्लेख गर्दै नदीको दुवैतर्फ तटबन्ध भएपछि पूरा क्षेत्रमा पुल बन्नुपर्ने तर्क गरे । वडाध्यक्ष खरेलले भने, “यहाँको वास्तविक अवस्था र भूगोल हेरेर काम हुनुपर्छ ।”

डुडुवा गाउँपालिकाका-५ का वडाध्यक्ष झङ्कबहादुर थापाले थप संरचना निर्माण नभए अहिले बनिरहेको पुलको औचित्य नरहने उल्लेख गरे । पुल निर्माण विस्तार नभए बालापुर, कम्दी, सिधनियाघाट क्षेत्र डुबानमा पर्ने जोखिम रहेको जानकारी दिँदै उहाँले जनताको मागअनुसार एक हजार १४० मिटरको पुल निर्माण गर्न सरकारसँग माग गरे ।

लुम्बिनी प्रदेशसभाका पूर्वमन्त्री कृष्णा केसीले जनताको असन्तुष्टिलाई सम्बोधन गरेर पुल निर्माण सम्पन्न गर्न सरोकार भएका निकायलाई आग्रह गरे । हुलाकी सडक पछिल्लो समय नेपालगन्जबाट बुटवल हुँदै पूर्वतर्फ जानका लागि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेकाले एक हजार १४० मिटर फराकिलो पुल निर्माण सम्पन्न भएपछि सहज हुने उनको भनाइ छ । साँघुरो पुल भएकाले हाल सवारीसाधनले पालो कुरेर पुल पार गर्नुपर्ने बाध्यता छ ।

हाल रहेको करिब ३५० मिटर लामो पुल नजिकै अर्को निर्माण भइरहेको छ । स्थानीयले पुलको लम्बाई ४४० मिटर थप गरी एक हजार १४० मिटर पुर्याउन माग गरेपछि आयोजना कार्यालयले निर्देशनालयमा लिखित अनुरोधसहितको पत्र पठाइएको जनाएको छ ।

यसैबीच, आयोजनाका निर्देशकसहितको उच्चस्तरीय टोलीले पुल निर्माणस्थलबाट स्थलगत जानकारी लिएर फर्किए पनि नतिजा नआएको स्थानीयले बताएका छन् । स्थानीयले पुल निर्माणका क्रममा अधुरो काम नगर्न दबाब दिँदै बाँकी क्षेत्रमा बाँध बनाउने कार्य अस्वीकार गरेका छन् ।

“हामीलाई बाँध होइन, पुल चाहिएको हो, हाम्रो लालपुर्जा भएको जमिनमा राप्ती बगेको छ, खाली जमिनमा बाँध बाँधिएपछि हाम्रो पेट कसरी पाल्ने हो”, राप्तीसोनारी-६ का स्थानीय प्रमोदकुमार सोनकरले भने । सरकारले पुलको लम्बाइ बढाउनुपर्ने माग राख्दै उनले बाँकी क्षेत्रमा बाँध बनाउन नहुने धारणा राखे ।

आयोजना प्रमुख भण्डारीले जनताका तर्फबाट राखिएका माग केन्द्रसम्म पुर्याइएको बताए । ठेक्का सम्झौताअनुसार निर्धारित समयभित्र निर्माण सम्पन्न हुनेगरी काम तीव्र गतिमा भइरहेको जानकारी दिँदै उनले प्राविधिक रूपमा पुलको ‘डिजाइन’मा कुनै समस्या नभएको उल्लेख गरे ।

डिजाइनअनुसार ७०० मिटर पुल, एक हजार ४८० मिटर ‘एप्रोच’ सडक र चार किलोमिटर नदी नियन्त्रणको काम एकसाथ सम्पन्न हुने आयोजना कार्यालयले जनाएको छ । विसं २०८४ असारमा सकिने गरी निर्माणाधीन सो पुलको लागत रु ११९ करोड रहेको छ । रासस

प्रकाशित मिति: शनिबार, असार १३, २०८३  १५:०५
प्रतिक्रिया दिनुहोस्