सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
जाजरकोट l जाजरकोट जिल्ला छेडागाड नगरपालिका वडा नं २ घना जंगलको बीचमा अवस्थित सुयाडा मालिका मन्दिर धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण गन्तव्यका रूपमा परिचित बन्दै गएको छ ।
शान्त वातावरण, हरियाली डाँडाकाँडा, मनोरम प्राकृतिक दृश्य र आध्यात्मिक अनुभूतिले यो क्षेत्रलाई विशेष आकर्षणको केन्द्र बनाएको छ । स्थानीय जनविश्वास अनुसार मालिका भगवती प्रति श्रद्धा राखी दर्शन गरे मनोकामना पूरा हुने विश्वास रहि आएको छ । यही धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संयोजनले सुयाडा मालिका क्षेत्रलाई धार्मिक पर्यटनसँगै इको–टुरिजमको उत्कृष्ट सम्भावना बोकेको क्षेत्रका रूपमा स्थापित गरिरहेको छ ।
मध्यपहाडी लोकमार्गसँगको पहुँच, विकसित हुँदै गएको मन्दिर परिसर तथा वरपरको जैविक विविधताले यस क्षेत्रको महत्व अझ बढाएको छ । यहाँ आउने पर्यटकले धार्मिक दर्शन सँगै शान्त वातावरण, स्वच्छ हावा र मौलिक ग्रामीण जीवनशैलीको अनुभूति गर्छन्।
धार्मिक उत्पत्तिको रोचक लोक आख्यान यस मन्दिरसँग जोडिएको एक महत्वपूर्ण जनश्रुति अनुसार जाजरकोट छेडागाड नगरपालिका–३ का जसिराम उपाध्याय नामका ब्राह्मण भैंसी गोठालोका रूपमा उक्त क्षेत्रमा पुगेका थिए । उनी सोही स्थानमा विश्राम गर्ने क्रममा निद्रामा परेपछि सपनामा त्यहाँ देवी मालिका भगवतीका मूर्ति, ताम्रपत्र तथा शिलालेखहरू रहेको दृश्य देखे । उक्त सपना अनुसार स्थानीय र सपनाधारी ब्राम्हणले सो स्थल उत्खनन् गर्दा वास्तवमै त्यहाँ देवीका मूर्तिहरू, ताम्रपत्र तथा ऐतिहासिक शिलालेखहरू फेला परेको विश्वास गरिन्छ । त्यसपछि उक्त पवित्र स्थानलाई संरक्षण गर्दै विधिवत रूपमा पूजा–आराधना सुरु गरियो र पछि त्यही स्थानमा सुयाडा मालिका मन्दिर स्थापना भएको मानिन्छ । यसले यस क्षेत्रको धार्मिक महत्वलाई अझ गहिरो र ऐतिहासिक बनाएको छ ।
अन्तरपालिका समन्वयबाट पर्यटन विकासको पहल
यस क्षेत्रको दिगो विकास, धार्मिक पर्यटन प्रवर्द्धन तथा व्यवस्थित व्यवस्थापनका लागि मिति २०८३/०१/१८ गते सुयाडा मालिका क्षेत्रमै अन्तरपालिका बैठक आयोजना गरिएको थियो । उक्त बैठकमा जाजरकोटको छेडागाड नगरपालिका र दैलेखको भगवतीमाई गाउँपालिकाबीच क्षेत्रीय सहकार्यलाई थप सुदृढ गर्ने उद्देश्यका साथ महत्वपूर्ण छलफल सम्पन्न भएको छ । बैठकबाट सुयाडा मालिका क्षेत्रको समग्र विकास, फोहोर व्यवस्थापन, शान्ति सुरक्षा, धार्मिक वातावरण संरक्षण तथा व्यापार व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउने विषयमा पाँच बुँदे महत्वपूर्ण दस्तावेजमा संयुक्त हस्ताक्षर गर्दै सहकार्यको नयाँ आधार तय गरिएको छ ।
यस प्रकारको अन्तरपालिका समन्वयले सुयाडा मालिका क्षेत्रलाई धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्न थप टेवा पुग्ने विश्वास गरिएको छ । साथै स्थानीय आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना तथा पर्यटनमैत्री वातावरण निर्माणमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
चुलाकोट मालिका : धार्मिक आस्था र हिमाली दृश्यावलोकनको अनुपम केन्द्र
सुयाडा मालिका मन्दिर क्षेत्रबाट करिब ९०० मिटर माथिल्लो लेक क्षेत्रमा अवस्थित चुलाकोट मालिका मन्दिर यस क्षेत्रकै अर्को महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य हो ।
प्राकृतिक सुन्दरता, धार्मिक महत्व तथा हिमाली दृश्यावलोकनका कारण चुलाकोट मालिका पछिल्लो समय थप चर्चामा आउँदै गएको छ । विशेषगरी जनैपूर्णिमाको अवसरमा यहाँ विशाल धार्मिक मेला लाग्ने गर्दछ ।
उक्त मेलामा दैलेख, सुर्खेत, जाजरकोट लगायतका जिल्लाबाट हजारौँ भक्तजनहरूको सहभागिता रहने गर्दछ । स्थानीय परम्परा अनुसार मेलामा पुग्ने भक्तजनहरूले त्यहाँका पुजारीबाट वर माग्ने विशेष धार्मिक प्रचलन रहेको पाइन्छ। ताँहा बर प्राप्त गर्दा सन्तान प्राप्त हुने, धन, अन्न, बर बधु समेत प्राप्ति हुने जनविश्वास रही आएको छ । जसले यस क्षेत्रको सांस्कृतिक तथा आध्यात्मिक महत्वलाई झन् गहिरो बनाएको छ ।
चुलाकोट मालिकाबाट दैलेख, कालिकोट, सुर्खेत तथा जाजरकोटका विभिन्न भू–भागहरूको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । मौसम अनुकूल भएको अवस्थामा नेपालगञ्ज क्षेत्रसँगै नेपालका प्रसिद्ध हिमश्रृंखलाहरू धौलागिरी, नीलगिरी, अन्नपूर्ण, सिस्ने हिमाल तथा कुसे–मुसे हिमशृंखलाको समेत अवलोकन गर्न सकिने स्थानीय विश्वास र अनुभव रहेको छ । साथै वरपर फैलिएको घना जंगल क्षेत्रले यहाँको प्राकृतिक आकर्षणलाई अझ मनमोहक बनाएको छ ।
पदमार्ग निर्माण : धार्मिक पर्यटन विकासको नयाँ आधार सुयाडा मालिका मन्दिरदेखि चुलाकोट मालिका मन्दिरसम्म सहज पहुँच विस्तार गर्न रेलिङसहितको “टु–वे” सिँढीयुक्त पदमार्ग निर्माण गर्ने कार्यमा नगरपालिका सक्रिय रूपमा लागिरहेको छ । उक्त पदमार्गमा बीचबीचमा विश्राम स्थल निर्माण गर्ने योजना समेत अघि बढाइएको छ ।
यस पूर्वाधार निर्माणसँगै चुलाकोट मालिकाको प्रचारप्रसार थप प्रभावकारी हुने, आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने तथा धार्मिक पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास हुने अपेक्षा गरिएको छ । साथै यसले स्थानीय व्यापार व्यवसाय, होमस्टे, कृषि उत्पादन तथा रोजगारीका अवसरहरूमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
सुयाडा–चुलाकोट मालिका क्षेत्रका प्रमुख विशेषताहरू • धार्मिक आस्था र शक्ति उपासनासँग जोडिएको महत्वपूर्ण क्षेत्र • सुयाडा मालिका र चुलाकोट मालिकाको धार्मिक सम्बन्ध • जनैपूर्णिमामा लाग्ने ऐतिहासिक तथा धार्मिक मेला • घना जंगल, स्वच्छ वातावरण र शान्त प्राकृतिक क्षेत्र • हिमश्रृंखला तथा पहाडी भू–दृश्य अवलोकनको उत्कृष्ट स्थल • धार्मिक, सांस्कृतिक तथा इको–टुरिजमको प्रचुर सम्भावना • पदमार्ग, विश्रामस्थल तथा पूर्वाधार विकासको विस्तार हुँदै गएको क्षेत्र • स्थानीय संस्कृति, परम्परा र ग्रामीण जीवनशैलीसँग जोडिएको मौलिक गन्तव्य
विकास, संरक्षण र आध्यात्मिक शिक्षाको नयाँ आयाम सुयाडा–चुलाकोट मालिका क्षेत्रको विकास, संरक्षण तथा प्रचारप्रसारका लागि छेडागाड नगरपालिका,जाजरकोट भगवतीमाई गाउँपालिका,दैलेख, कर्णाली प्रदेश सरकार मातहतका विभिन्न निकाय तथा संघीय सरकारले आ–आफ्नो तहबाट भौतिक पूर्वाधार निर्माणमा लगानी गर्दै आएको अवस्था छ ।
मन्दिर परिसर व्यवस्थापन, पदमार्ग निर्माण, विश्रामस्थल, खानेपानी, सरसफाइ तथा अन्य धार्मिक पूर्वाधार निर्माणका कार्यहरू क्रमशः अघि बढिरहेका छन् भने अझै मन्दिरको केही भाग,मन्दिर क्षेत्रको घेराबार र आश्रम स्थल लगायतका थुप्रै संरचना निर्माण गर्न बाँकी रहेका छन् । यस क्षेत्रलाई व्यवस्थित धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आगामी दिनमा थप पूर्वाधारको विकास विस्तार, संरक्षणका कार्यक्रम संञ्चालन गर्न , प्रभावकारी प्रचारप्रसार समेतको लागि सरोकारवाला निकायहरूको अझ सशक्त सहकार्य समन्वय आवश्यक देखिन्छ । स्थानीय समुदाय, सरकार तथा धार्मिक संस्थाहरूबीचको समन्वयले मात्रै यस क्षेत्रको दीर्घकालीन संरक्षण र समृद्धि सम्भव हुने अपेक्षा गरिएको छ ।
विशेष महत्वका साथ, यस क्षेत्रमा निकट भविष्यमा अखण्ड वेद विद्याश्रम सञ्चालन गर्ने तयारी भइरहेको छ, जसलाई स्वर्गद्वारी मन्दिर प्यूठान जस्तै आध्यात्मिक तथा वैदिक शिक्षाको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । साथै गुरुकुल शिक्षाको पठनपाठन भने अघिल्लो शैक्षिक सत्रदेखि नै प्रारम्भ भइसकेको छ । यसले धार्मिक पर्यटनसँगै वैदिक शिक्षा, संस्कृतिको संरक्षण तथा आध्यात्मिक अध्ययनको केन्द्रका रूपमा यस क्षेत्रको महत्वलाई अझ उचाइमा पुर्याउने विश्वास गरिएको छ ।
सम्भावना र भविष्यको दिशा सुयाडा–चुलाकोट मालिका क्षेत्र धार्मिक पर्यटन, प्राकृतिक पर्यटन तथा सांस्कृतिक पर्यटनको एकीकृत विकास गर्न सकिने अत्यन्त सम्भावनायुक्त क्षेत्रका रूपमा रहेको छ । यहाँको धार्मिक आस्था, प्राकृतिक सौन्दर्य, हिमाली दृश्यावलोकन, घना वन क्षेत्र तथा मौलिक संस्कृति भविष्यमा ठूलो पर्यटकीय आकर्षण बन्न सक्ने आधारहरू हुन् ।
यदि योजनाबद्ध रूपमा पूर्वाधार विकास, प्रचारप्रसार, सरसफाइ व्यवस्थापन, सुरक्षा व्यवस्था तथा स्थानीय सहभागितालाई सुदृढ गर्न सकिएमा यो क्षेत्र कर्णाली प्रदेशकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने प्रचुर सम्भावना रहेको छ ।
यस क्षेत्रको विकाससँगै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा होमस्टे व्यवसाय विस्तार, युवाहरूलाई रोजगारी सिर्जना, सांस्कृतिक संरक्षण तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
निष्कर्ष र अपेक्षा “धार्मिक आस्था, प्राकृतिक सौन्दर्य, हिमाली दृश्यावलोकन र अन्तरपालिका सहकार्यको अनुपम संगम”का रूपमा रहेको सुयाडा–चुलाकोट मालिका क्षेत्र जाजरकोट जिल्लाको मात्र होइन, समग्र कर्णाली प्रदेशकै एक उज्ज्वल पर्यटन सम्भावना बोकेको क्षेत्र हो ।
यस क्षेत्रको योजनाबद्ध विकास, निरन्तर संरक्षण, प्रभावकारी प्रचारप्रसार तथा स्थानीय समुदायको सक्रिय सहभागिताले यसलाई भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सक्ने विश्वास गर्न सकिन्छ ।
यसरी धार्मिक आस्था र प्रकृतिको अद्भुत संगमलाई संरक्षण गर्दै दिगो पर्यटन विकासतर्फ अघि बढ्नु नै आजको आवश्यकता हो, जसले स्थानीय समृद्धि, रोजगारी र सांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाउनेछ ।
र अन्त्यमा मेरो सानो प्रयास मार्फत सुयाडा–चुलाकोट मालिका क्षेत्रले पर्यटन, धार्मिक तथा सांस्कृतिक क्षेत्र भित्र थोरै भए पनि आफ्नो पहिचान र स्थान बनाउन सफल हुनेछ भन्ने विश्वास सहित यसको प्रचारप्रसारले मात्रै पर्यटन प्रर्बद्धन, विकास विस्तार र संरक्षणले गति लिने भएकोले यो सामग्री अध्ययन गर्नुहुने पाठकवर्गहरुले पाठ्यसामग्री मार्फत पनि लाइक शेयर गरी प्रचारप्रसारमा जोड दिनुहुनेछ भन्ने अपेक्षा व्यक्त गर्दछु ।धन्यवाद।। जय मालिका ।।।
“धार्मिक आस्था, प्राकृतिक सौन्दर्य, हिमाली दृश्यावलोकन र अन्तरपालिका सहकार्यको अनुपम संगम — सुयाडा–चुलाकोट मालिका क्षेत्र।”
देब बहादुर बुढा सूचना अधिकारी छेडागाड नगरपालिका जाजरकोट ।