सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
जाजरकोट भूकम्पपछिको पुनर्लाभ तथा स्थानीय सेवा प्रवाहलाई सुदृढ तुल्याउने उद्देश्यका साथ जापान सरकार र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले जाजरकोटको नलगाड नगरपालिकालाई नवनिर्मित ’प्रि–फ्याब’ भवन हस्तान्तरण गरेका छन्।
सन् २०२३ नोभेम्बरमा गएको भूकम्पपछि पश्चिम नेपालमा सामुदायिक पूर्वाधारको सुदृढीकरण र सेवा प्रवाहमा सुधार ल्याउन निर्माण भइरहेका १० वटा भवनमध्ये यो पहिलो भवन हो।
जापान सरकारको आर्थिक सहयोग तथा संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रम (यूएन–ह्याबिट्याट) र स्थानीय संस्थाहरूसँगको साझेदारीमा यी संरचनाहरू निर्माण भइरहेका हुन्। यो परियोजना जाजरकोटको नलगाड नगरपालिका, भेरी नगरपालिका र बारेकोट गाउँपालिका तथा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा केन्द्रित छ।
भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक संरचनाहरूलाई प्रतिस्थापन गर्ने यी भवनहरूलाई वडा कार्यालय, खोप केन्द्र तथा प्रहरी चौकीलगायतका अत्यावश्यक सेवा प्रवाहका लागि उपयोग गरिने जनाइएको छ। भवन हस्तान्तरण कार्यक्रममा नेपालस्थित जापानी राजदूतावासका नियोग उपप्रमुख यासुहारु शिन्टोले यस परियोजनाले भूकम्प प्रभावित क्षेत्रमा स्थानीय शासनलाई सुदृढ गर्दै आधारभूत सेवाको निरन्तरता सुनिश्चित गर्ने विश्वास व्यक्त गरे।
यूएनडीपीकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले विपद्पछिको पुनर्लाभ एक दीर्घकालीन प्रक्रिया भएको उल्लेख गर्दै यो भौतिक पूर्वाधारको पुनर्निर्माणमा मात्र सिमित हुन नहुने बताए। जीविकोपार्जन, सुशासन र सामुदायिक संरचनाहरूको पुनर्स्थापनाका लागि स्थानीय सरकार र समुदायबीचको निरन्तर सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए।
नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावतले परियोजनाले पूर्वाधार विकासका साथै जीविकोपार्जन, मनोसामाजिक सहयोग र स्थानीय शासनलाई समेत समेट्ने एकीकृत दृष्टिकोण अपनाएको भन्दै प्रशंसा गरे। उनकाअनुसार यसले स्थानीय तहको आपत्कालीन पूर्वतयारी र प्रतिकार्य योजनालाई समेत सबल बनाएको छ।
जापान सरकारको सहयोगमा सञ्चालित ‘जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा जीविकोपार्जन सुधार तथा विपद् उत्थानशीलता अभिवृद्धि’ परियोजनाले कर्णाली प्रदेशका पाँच स्थानीय तहमा सेवा प्रवाह, पुनर्निर्माण र प्रभावित समुदायको आर्थिक उत्थानका लागि कार्य गरिरहेको छ। यो परियोजना सन् २०२६ जुलाईसम्म सञ्चालन हुनेछ।