सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सरकारलाई खबरदारीपूर्ण समाचार लेखेकै कारण आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठमाथि गरिएको प्रहरी निगरानी र धरपकडको प्रयासविरुद्ध नेपाल पत्रकार महासंघसहित विभिन्न पत्रकार संगठनहरूले आपत्ति जनाएका छन् ।
महासंघ र पत्रकार सम्वद्ध संगठनहरुले छुट्टाछुट्टै विज्ञप्ति निकालेर श्रेष्ठलाई धम्क्याउने तथा समाचारको स्रोत खोल्न दबाब दिने कार्य प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिको प्रहार भएको बताएका हुन् । जनआस्था साप्ताहिक र जनआस्था डटकमका कुनै पनि समाचारप्रति विमति भए प्रेस काउन्सिलमार्फत् समाधान खोज्न सकिने विकल्प स्मरण गराउँदै महासंघले प्रेसविरोधी व्यवहार सच्याउन सरकारलाई कडा चेतावनी दिएको छ ।
‘समाचारसँग सम्बन्धित विषयलाई लिएर वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले निगरानी गर्दै धरपकडको प्रयास भएको र विभिन्न व्यक्तिवाट धम्की दिइएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ’, महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘समाचार लेखेकै आधारमा श्रेष्ठमाथि भइरहेका व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिकै प्रहार भएको महासंघको बुझाई छ, यस प्रकारको व्यवहारको महासंघ निन्दा गर्दछ ।’
त्यस्तै, प्रेस चौतारी नेपालले पनि राज्य संयन्त्रको दुरुपयोग गर्दै वरिष्ठ पत्रकार श्रेष्ठमाथि धरपकडको तयारी, निरन्तर धम्की, निगरानी तथा मानसिक दबाब सिर्जना गर्ने कार्य अत्यन्त आपत्तिजनक र अलोकतान्त्रिक भएको जनाएको छ ।
‘श्रेष्ठविरुद्ध भइरहेका योजनाबद्ध दबाब, प्रतिशोध र षड्यन्त्रको प्रेस चौतारी नेपाल घोर निन्दा तथा भर्त्सना गर्दछ’, पत्रमा उल्लेख छ, ‘श्रेष्ठले आफूमाथि उठाइएका आरोपहरूको निष्पक्ष छानबिनको माग गरिरहँदा उल्टै धम्की, निगरानी र दबाब बढ्नुले सरकारको व्यवहार तथा न्याय प्रणालीको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ।’
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर पार्ने, पत्रकारलाई धम्क्याउने, मानसिक यातना दिने तथा सञ्चारमाध्यममाथि अविश्वास सिर्जना गर्ने गतिविधिविरुद्ध सम्पूर्ण सञ्चारकर्मी, नागरिक समाज, मानवअधिकारकर्मी तथा लोकतन्त्रप्रेमी शक्तिहरूलाई दृढतापूर्वक एकजुट हुन आह्वान गर्दै चौतारीले श्रेष्ठमाथि गरिएको प्रतिशोधपूर्ण व्यवहार र अनावश्यक हस्तक्षेप तत्काल बन्द गर्न सचेतसमेत गराएको छ ।
उता, प्रेस सेन्टर नेपालले घटनाको निष्पक्ष छानविन गरी दोषीमाथि कानुनी कारवाही गर्न माग गरेको छ । पत्रकार श्रेष्ठलाई विदेशी नम्बरबाट फोन आउनु, कार्यालयको गेटमा मदिराको बोतल र नगद रकम छाडिनुले योजनावद्ध षडयन्त्र देखिएकाे सेन्टरको आशंका छ ।
श्रेष्ठविरुद्ध भइरहेका षड्यन्त्रको छानविन गर्न माग गर्दै विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि पत्रकार वा सञ्चारमाध्यमलाई दबाब, धम्की, प्रलोभन वा षड्यन्त्रमार्फत कमजोर बनाउने प्रयास कदापि स्वीकार्य हुन सक्दैन ।’ जनआस्था मिडियाले रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्दै आएकै कारण षड्यन्त्र रचिएको हुनसक्ने आशंका पनि गरिएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघले पनि तथ्यमा आधारित खोजमूलक समाचार प्रकाशन गर्दै आएको जनआस्थालाई नियोजित रुपमा बदनाम गर्न खोज्ने, पत्रकारको चरित्रहत्या गर्ने, भ्रम फैलाउने र सामाजिक सञ्जालमार्फत् विश्वसनीयतामाथि प्रहार गर्ने कार्य प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप रहेको बताएकाे छ ।
पत्रकार श्रेष्ठलाई लक्षित गर्दै सामाजिक सञ्जाल, अज्ञात फोन कल, विदेशी नम्बरमार्फत मानसिक दबाब, आर्थिक प्रलोभन तथा योजनाबद्ध दुष्प्रचार गरेर बदनाम गर्ने, फसाउने र स्वतन्त्र पत्रकारितामाथि नै प्रहार गर्ने उद्देश्यले भइरहेका गतिविधिप्रति ध्यानाकर्षण जनाउँदै महासंघले भनेको छ, ‘पत्रकारलाई त्रसित बनाउने, सञ्चारमाध्यमलाई कमजोर पार्ने, स्वतन्त्र आवाजमाथि दबाब सिर्जना गर्ने तथा योजनाबद्ध रूपमा बदनाम गर्ने प्रयास लोकतान्त्रिक मूल्य, मान्यता, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताविरुद्धको सुनियोजित आक्रमण भएको हाम्रो धारणा छ ।’
आफ्नो गलत कार्य छोपाउनका लागि विभिन्न समूह खडा गरि पत्रकारमाथि गरिने यस्ता संगठित आक्रमणप्रति राज्य संयन्त्र गम्भीर बन्न आवश्यक रहेको महासंघको ठहर छ ।
समाजवादी प्रेस संगठनले पनि पत्रकार श्रेष्ठविरुद्ध भइरहेको षड्यन्त्रको घोर निन्दा गरेको छ । श्रेष्ठलाई पक्राउ गरिने र त्यसका लागि प्रहरी परिचालन गरिसकिएको भनेर तर्साउने प्रयास भइरहेकोमा संगठनले यस्ता डर, धम्की र त्रास देखाउने काम तत्काल बन्द गर्न भनेको छ ।
‘विभिन्न देश र व्यक्तिको नाम लिंदै फोन गरी, नक्कली व्यक्ति खडा गरी उपहारको नाममा कार्यालयमै समान र पैसा पठाएर आर्थिक प्रलोभनमा पार्न खोज्नु लामो समयदेखि खोजमूलक पत्रकारिता गर्दै आउनुभएका पत्रकार श्रेष्ठविरुद्धको योजनाबद्ध षड्यन्त्र हो भन्नेमा कुनै द्विविधा छैन’, संगठनले भनेको छ, ‘पत्रकार वा सञ्चारमाध्यमलाई दबाव, धम्की, प्रलोभनमार्फत कमजोर बनाउने प्रयास कदापी स्वीकार्य हुन सक्दैन ।’
नेवाः पत्रकार राष्ट्रिय दबुले पनि पत्रकार श्रेष्ठविरुद्ध रचिएको षड्यन्त्रको निन्दा गर्दै सरकारलाई संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको स्मरण गराएको छ । लामो समयदेखि जनतालाई खोजमुलक समाचार सूचित गर्दै आएका पत्रकार श्रेष्ठमाथि मानसिक यातना दिन र तर्साउन गरिएका गतिविधि तत्काल बन्द गर्न दबुको मागको छ ।
के भन्छन् किशोेर श्रेष्ठ ?
सफाइ होइन,सत्य हो हामीले चिनियाँ सिमकार्ड प्रयोगमार्फत नेपाली मिडियालाई ट्र्याप गरी यहाँका पदाधिकारी र सन्चारप्रणालीमाथि अवान्छित आक्रमण गर्न खोज्ने केही बिदेशी पात्रलाई अफिसमै आउने वातावरण सिर्जना गरेकै हो । हामीले नै संकलन गरेको सिसिटिभी फुटेज र अन्य प्रमाणका आधारमा सरकारले मूल दोषी पत्ता लगाउन अनुसन्धान शुरु गरेको छ ।त्यसमा हाम्रो पूर्ण साथ र सहयोग रहेको छ ।
दिपक भट्ट,सुलभ अग्रवालहरुले अरबौँ राजश्व ठगेको खबर ब्रेकिङ्ग गर्ने हामीले क्युआर कोड,बैंक खाता र मान्छे पठाएर ५० हजार नगद मगाएको छैन,हैन । सरकारले दोषीलाई समातेर उसका डिभाइसबाट एडिटेड हैन फुल भर्सन अडियो र लिखित सन्चार बरामद गर्नेमा हामी ढुक्क छौं । शुक्रबार बेलुका उपहार पठाउँछु भन्नेलाई अफिसमै आउने वातावरण सिर्जना गरेर लगत्तै नेपाल प्रहरीलाई लिखित र हुलियासहितका अन्य प्रमाण उपलब्ध गराएको हामीले हो । यसको सारा अभिलेख नेपाल प्रहरीसङ्ग छ । यो उत्खनन् अरुले गरेको होइन । हामीले हो ।
हामीले उपहार ग्रहण नगर्ने र तिनका आपराधिक गतिविधिमा कुनै साथ सहयोग पनि नदिने जवाफ फर्काएको र प्रहरीमा बिदाकै दिन भए पनि उजुरी दर्ता गराएको भोलिपल्ट आइतबार दिउँसो १२ बजेदेखि तिनले चोरको खुट्टा काट् भन्दा फुत्त खुट्टा थुते झैं मधेस र बिदेश मूलका केही पात्रमार्फत एडिटेड सामग्री एकैचोटी छरपस्ट पारेर भ्रमको खेती शुरु गरेको सिक्वेन्स हेर्दा थाहा हुन्छ ।
#गिफ्ट हामीले पठाऊ भनेको छैन,सुधन गुरुङको अन्य कुनै पनि पात्र लाई ठेगान लगाउन र राष्ट्रघात गर्न मन्जुर छौं भनेको छैन । १० लाख दिने प्रलोभनलाई वाह,ओके भनेर सदर गरेको छैन । ५० हजार पठाएको चुपचाप स्वीकारेर तिनीहरूसङ्ग सहकार्य गर्न तयार छौं भनेको भए सायद यो प्रकरण बाहिर आउने थिएन,देश जुग जुगसम्म गुमराहमै रहने थियोे । भ्रमको खेती चलाउनेहरुले भन्न सक्नुपर्यो-तिनले स्थापित गर्न खोजेको "घुस" भनेको के हो ? बिहे,ब्रतवन्ध,भोजको कार्डमा उपहार शीर्षकअन्तर्गत नगद र जिन्सी भनेर छुट्याइएको हुन्छ । अडियो कल गर्ने अपराधीले गिफ्ट भनिरहँदा नगदको उच्चारण गरेको छैन ।
सुधन गुरुङलाई ध्वस्त पार्ने,शेरबहादुर देउवालाई नेपाल ल्याएर केपी ओलीसङ्ग भेटाई वर्तमान सरकारविरुध्द नयाँ खेल शुरु गर्ने जस्ता अन्टसन्ट बोल्न थालेपछि शंका लागेर हामीलाई फोन आएको चिनियाँ सिम कसका नाममा र कहाँ रजिस्टर्ड छ भनी पत्ता लगाएर प्रहरीलाई अनुसन्धानका निम्ति बेलैमा जानकारी दिएको हामीले हो,अरुले हैन । मिति र समय हेर्दा हुन्छ । उसका अनेकौं कललाई हामीले इग्नोर गरेको उसैले निकालेको भिडियोमा छर्लङ्ग देखिन्छ । तैपनि उसले पटकपटक कचकच गरेको गर्यै छ ।
खोजी पत्रकारितामा ३ दशक बिताएको हामीलाई यस प्रकरणमा पनि केही न केही सुराक पक्कै चाहिएको थियो । हामीले शुरुमै फोन ब्लक गरिदिएको भए उक्त षडयन्त्रका मतियारको हुलिया र अरु प्रमाण जुट्न र तिनको मुखुण्डो उतार्न कति सम्भव हुन्थ्यो ! बुझ्नेलाई यो कुरा गहिरो छ । आज उपहार भन्दै रक्सीको बोत्तल मुनी नगद घुसारेर पठाउनेले भोलि त्यस्तै झोलामा जस कसैको नाममा लागुऔषध र बिस्फोटक पदार्थको झोला हालिदिन सक्छ ।
जनआस्थाले ब्यक्तिगत रुपमा न हिजो केपी ओली,शेरबहादुर देउवा,प्रचण्डवारे लेख्यो न आज अरुवारे लेखेको छ । सिस्टम नबिगृयोस्,नभत्कियोस् भनेर हरेकलाई खबरदारी गरेको छ । गरिरहने छ । यो हरेक नागरिक र अझ जिम्मेवार सन्चारकर्मीको दायित्वभित्र पर्ने कुरा नै हो । जतिसक्दो छिटो यो प्रकरणको निप्टारा हुनैपर्छ । बूढी मरी भनेर ताली बजाउनेभन्दा काल पल्केकोमा चिन्ता गर्ने बेला छ । जनआस्था साप्ताहिक