सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
हाल कोसी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी तराईमा भूआंशिक बादल लागेको छ। अनि कोसी प्रदेशका थोरै स्थान, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्नेछ भने तराईमा आंशिक बादल लाग्नेछ। अनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपात साथै बाँकी तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
यसैगरी आज राति हिमाली भेगमा साधारणतया बादल लाग्नेछ भने देशका बाँकी स्थानमा आंशिक बादल लाग्नेछ। अनि हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ। साथै पहाडी भूभागलगायत कोसी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ।
काठमाडौँ उपत्यकामा पनि मध्यमसम्म वर्षा हुने
आज काठमाडौँ उपत्यकामा पनि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार आज दिनभर नै काठमाडौँ उपत्यकाको मौसम बदली भइरहने सम्भावना छ।
‘अहिले पनि काठमाडौँ उपत्यकाको आकाशमा बादल लागेको छ भने एक-दुई स्थानमा हल्का पानी परिरहेको देखिएको छ’, बिहीबार बिहान उनले नेपालखबरसँग भनिन्, ‘आज दिउँसो उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना छ।’
मौसमविद् महजर्नका अनुसार निरन्तर वर्षा भइरहने होइन, बेलाबेला मौसम खुलेजस्तो हुने, फेरि बादल लाग्ने र पानी पर्ने, रोकिने, फेरि पर्ने क्रम जारी रहने देखिन्छ।
हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ। यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।