बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ युवक सम्पर्कविहीन

सोमबार, चैत २, २०८२

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ युवक सम्पर्कविहीन भएका छन्। गत फागुन २३ गते सिकार खेल्न गएका उनीहरू घर नफर्किएपछि खोजबिनका लागि प्रहरीमा खबर आएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाले बताए। उनीहरूका परिवारजनले आइतबार बेलुका ५ बजेतिर बराहताल गाउँपालिका-२ का आसे महतराले घटनाबारे प्रहरीलाई जानकारी दिएको बताए। 

प्रहरीमा आएको जानकारी अनुसार सम्पर्कविहीन हुनेमा बराहताल गाउँपालिका-१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका-८ गंगटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेको डीएसपी बुढथापाले बताए। 

सम्पर्कविहीन हुनेहरू गाउँदेखि १७ किलोमिटर दक्षिणतर्फ रहेको बर्दिया राष्ट्रिय निकुञ्जतर्फ सिकार खेल्न गएको प्रहरीले जनाएको छ। उनीहरूको खोजिका लागि राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र आपसापको क्षेत्रका प्रहरी एकाइसँग समन्वय भइरहेको उनले बताए। नेपालखबर

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  १३:०७
प्रतिक्रिया दिनुहोस्