सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरकै चार जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका नाबालक हुन् ।
पूर्व सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिसाको फागुन २३ गते मृत्यु भएको थियो ।
इनिसा २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् । लगतै उनलाई प्रदेश अस्पताल कालागाउँमा पुर्याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।
उनी कक्षा ११ मा अध्ययनरत थिइन् । उनको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले २४ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।
डिएसपी थापाका अनुसार सुर्खेत प्रहरीले २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो । थप अनुसन्धानका लागि फागुन २४ गते अरु तीन जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
बलात्कार पछि हत्याको आशंका
हरेक दिन झैँ इनिसा, फागुन २३ गते बिहान ६ बजे ‘ट्युसन पढ्न जान्छु’ भन्दै घरबाट निस्किएकी थिइन् । उनी वीरेन्द्रनगर–६ मा रहेको उषा बालबाटिका स्कुलमा कक्षा ११ मा पढ्थिन् । अघिल्ला दिनसम्म बिहान ८ बजेभित्र घर फर्किने छोरी ९ बजेसम्म नआएपछि आमाले फोन गरिन् । तर फोन स्विच अफ थियो ।
‘केही समय पछि तपाईँकी छोरी शहीद पार्कको जङ्गलमा बेहोस अवस्थामा छिन् । छिटो आइहाल्नुपर्यो भनेर एउटा नम्बरबाट फोन आयो,’ इनिसाकी आमा भन्छिन् । जनजागरण सामुदायिक वनसँग जोडिएको शहीद पार्कमा उनी पुग्दा इनिसा बेहोस अवस्थामा थिइन् । शरीर रक्ताम्मे थियो । छोरीको अवस्था देखेर आमा त्यहीँ बेहोस भइन् ।
घटनास्थलमा पुगेका अन्य व्यक्तिहरूले इनिसालाई प्रदेश अस्पताल कालागउँ पुर्याए । तर, अस्पताल पुर्याउँदा चिकित्सकले इनिसालाई मृत घोषणा गरे ।
मृतकका परिवारले सामूहिक बलात्कारपछि मृत्यु भएको भन्दै कर्तव्य ज्यान तथा जबरजस्ती करणीको जाहेरी दिएको छ । घटनास्थलको अवस्था हेर्दा सामूहिक बलात्कार पछि हत्या नै गरेको परिवारको दाबी छ । ‘छोरीको शरीरभरि निलडामा थिए, कपाल लुछेको छ । चुरा फुटेका छन् । दुई तीन मिटर माथिबाट तल घसारेको छ’ मृतकी आमा भन्छिन्, ‘तड्पाई तड्पाई मारेका छन् । दोषीमाथि कडा कारबाही होस् ।’
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी थापाले घटनाको गम्भीरताका साथ अनुसन्धान अगाडि बढाएको जानकारी दिए । पोस्टमार्टम रिपोर्ट आएपछि एउटा निष्कर्षमा पुग्ने प्रहरीले बताएको छ । अनलाइनखबर