jumla 7 jumla 7
jumla 7 jumla 7

कुशे गाउँपालिकाकाे नीति तथा कार्यक्रम यस्ताे

बिहीबार, असार १२, २०८२

जाजरकाेट । "सुन्दर, शान्त र समृद्ध ठाउँ कुशे गाउँपालिकाको शानःविकासका पुर्वाधार निर्माण गर्ने हाम्रो अभियान" भनाई सहित कुशे गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।  गाउँपालिकाले आर्थिक बर्षको नीति तथा कार्यक्रम मार्फत शैक्षिक क्षेत्रमा समावेशी, प्रविधिमैत्री र व्यावहारिक योजना सार्वजनिक गरेको छ। गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले आ.व. २०८२/०८३ काे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै समावेशी शिक्षाको प्रवर्द्धन, शिक्षक तथा विद्यार्थी क्षमता विकास, डिजिटल शिक्षाको प्रयोग र शिक्षा प्रणालीमा दीर्घकालीन सुधारका लागि दूरदृष्टियुक्त कार्यक्रम घोषणा गरेका छन्।

naumule

नीति तथा कार्यक्रमकाे (पूर्णपाठ)

यस गरिमामय सभाका सदस्य ज्यूहरु,

नेपाली जनताले पटक-पटक गरेको लामो सङ्घर्ष र बलिदानको उपलब्धी स्वरूप जारी भएको नेपालको संविधान बमोजिम गठित कुशे गाउँपालिकाका जनताको प्रतिनिधिमूलक यस गरिमामय सभामा निर्वाचित भएपश्चात् नौ पटक कुशे गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न गइरहेको छु । वार्षिक नीति तथा कार्यक्रम तर्जुमाका क्रममा गाउँपालिकालाइ विभिन्न सुझाव दिनुहुने सम्पुर्ण आमा, बुवा, दाजु भाई तथा दिदी बहिनीहरु लगायत सरोकारवालाहरूलाई हार्दिक आभार सहित हामी सबैको तर्फबाट धन्यवाद व्यक्त गर्दछौ। यस अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलन, राजनीतिक अग्रगमन र लोकतन्त्रको सशक्तीकरणको क्रममा भएका ऐतिहासिक आन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण शहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उच्च सम्मान व्यक्त गर्दछु ।511186414_5066796180213198_920693774717246435_n-1750929074.jpgसुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने हाम्रो संकल्प, समस्त गाउँपालिका नागरिकको समृद्धिको चाहाना र हामीले निर्वाचनका क्रममा हाम्रा मतदाताहरु प्रति अभिव्यक्त गरेका प्रतिज्ञाहरु पुरा गर्ने दिशामा हामीले आगामी आ. व. २०८२/८३ को नीति तथा कार्यक्रम मार्फत समेट्ने प्रयास गरेका छौं। यसका लागि दीगो विकासको राष्ट्रिय लक्ष्यहरुको स्थानीयकरण गर्दै दिगो र गुणस्तरीय पूर्वाधार निर्माण सहित स्थानीय स्रोतको पहिचान र परिचालन गरी समावेशी, जलवायु उत्थानशील तथा दिगो स्थानीय आर्थिक विकास मार्फत समृद्ध गाउँपालिका र सुखी जनताको लक्ष्य हासील गर्न सार्वजनिक, निजी क्षेत्र र समुदायको साझेदारीता मार्फत विकास गर्न आवश्यक छ । हामी सामु सिमित स्रोत साधनका बाबजुत गाउँपालिका जनताका विकासका असिमित आवश्यकता र चाहानाहरु परिपूर्ति गर्न स्रोतको विवेक सम्मत तथा समुचित प्रयोग मार्फत प्राप्त उपलब्धीको न्यायोचित वितरण, आर्थिक असमानताको अन्त्य, गरिवी न्यूनिकरण, शोषणरहित, सभ्य र समतामुलक समाज निर्माण गर्ने हाम्रो साझा संकल्प रहेको छ ।

नीति तथा कार्यक्रम तर्जुमाका आधारहरुः

नेपालको संविधानमा स्थानीय शासन सम्बन्धी उल्लेख भएको नितीगत व्यवस्था, स्थानीय सरकार संचालन ऐन २०७४ स्थानीय तहको योजना तर्जुमा दिगदर्शन २०७८, १६ औ आवधिक योजनाका मुलभुत पक्षहरु अर्थमन्त्रालयको मार्गदर्शन तथा प्रथम गाउँ विकास आवधिक योजना अनुसार विभन्न चरणको सहभागितामुलक प्रक्रियाबाट यस गाउँपालिकाको आर्थिक वर्ष २०८२।०८३ को वार्षिक नीति तथा कार्यक्रम तयार गरिएको छ ।आम कुशे बासि नागरिकहरुको साथ सहयोग सुझाव दिइ उहाँहरुको सहभागिता एवम् परिचालनको क्षेत्रमा गाउँपालिकाले कायम गरेको इतिहासलाई अक्षुण्ण राख्दै शासकीय प्रबन्ध लाई जवाफदेहिता, पारदर्शिता, गुणस्तरीयता एवम् स्वच्छतायुक्त जनसहभागिता कायम गर्दै गाउँपालिकाको सिमित जनशक्ति बाट छिटो ,छरितो, चुस्तदुरुस्त तरिकाले प्रशासनिक तथा चालु खर्चलाई मितव्ययी बनाइ सेवाप्रवाहलाई प्रभावकारी तथा विकेन्द्रित तुल्याउदै पुँजिगत खर्च बढाउने नीति लाई निरन्तरता दिई संघ तथा प्रदेश सरकारबाट प्राप्त अनुदान तथा वित्तीय हस्तान्तरणको उच्चत्तम र प्रभावकारी एवम् दिगो उपयोग गर्दै वित्तीय आत्मनिरता  कायम गरिने कुरालाई समेत आधारको रुपमा लिएको छ।510723634_3900538786905010_5381351315110628190_n-1750929113.jpg

सभाका सदस्यज्यूहरू

 "सुन्दर, शान्त र समृद्ध ठाउँ कुशे गाउँपालिकाको शानःविकासका पुर्वाधार निर्माण गर्ने हाम्रो अभियान" को दीर्घकालीन सोच हासिल गर्ने अभियानमा कुशे गाउँपालिका र अन्तर्गतको समग्र टिम क्रियाशील छ। आवधिक योजना, परियोजना बैङ्क, CD Plan, O&M र मध्यमकालीन खर्च संरचना निर्माण गरी योजनाले लिएका लक्ष्य, उद्देश्य, प्राथमिकता तथा रणनीतिहरू कार्यान्वयन गर्दै गरिबी निवारण र आर्थिक समृद्धि र सामाजिक रुपान्तरणसहितको समानुपातिक समावेशी विकास हासिल गर्ने दिशातर्फ आगामी कार्यक्रमहरू केन्द्रित हुनेछन् । सामाजिक न्याय, सुशासन र समृद्धिसँगै शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगारी, मानव संसाधन विकास र नागरिक शिक्षाको प्रद्बर्धनलाई गाउँपालिकाले प्राथमिकता दिएको छ।

नेपालको संविधान २०७२ मा उल्लेखित मौलिक हक, राज्यको निर्देशक सिद्धान्त तथा नीतिहरू, नेपाल सरकारको सोह्रौं आवधिक योजना,  दीगो विकास लक्ष्य, यस गाउँपालिकाको आवधिक योजना  र गाउँपालिकाले निर्माण गरेका ऐन तथा कार्यविधि र आम नागरिकका भावना समेतलाइ आत्मसात गरी कुशे गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु ।

यस सभाका सदस्यज्यूहरू, म यस सभा समक्ष आर्थिक वर्ष २०८२/०८३ को विषयगत रुपमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहान्छु ।

आर्थिक विकास

  • स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जनाका लागि युवा लक्षित कृषि तथा गैर कृषि आयआर्जन मुलक कार्यक्रम सञ्चालन गरि एक वडा एक नमुना उत्पादन कार्यक्रम सञ्चालन गरिनेछ। त्यसका लागि सहलगानीमा कृषि व्यवसाय प्रद्बर्धदन कार्यक्रम सञ्चालन गर्न पहल गरिनेछ।
  • कृषिमा आधारित उद्योग व्यवसायलाई प्रवर्द्धन गर्न कृषि प्रणालीलाइ विविधिकरण, व्यवसायीकरण र यान्त्रीकरणको लागि सङ्घ तथा प्रदेश सरकारसँग साझेदारी गरिनुका साथै कृषि उपज वस्तुहरुलाई बजारीकरण गर्ने प्रबन्ध मिलाइनेछ साथै खेती प्रणालीको जोखीम न्युनिकरण गर्नका लागि वाली विमा तथा पशुपन्छि विमा कार्यक्रमलाई लागु गर्न पहल गरिनेछ।
  • यस पालिकामा उत्पादन हुने प्रमुख , खाद्यन्न तथा नगदे वाली मा उत्पादनमा तिव्रतर वृद्धी गर्न मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत कार्यक्रम संचालन गरिनेछ ।
  • निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायिक खेती प्रणालीमा परिणत गरी स्वच्छ उत्पादन र अर्गानीक गाउँपालिका वनाउने कार्यक्रमलाइ निरन्तरता दिएकोछ ।
  • यस कुशे गाउँपालिका भित्रको कृषि उत्पादनलाई व्यवस्थित वजारीकण गर्न यस पालिकाको उपयुक्त स्थानमा चिस्यान घर र संकलन केन्द्र स्थापना गर्न पहल गर्नुका साथै वाली पकेट र व्लक कार्यक्रमलाइ निरन्तरता दिदै स्थानीय स्तरमा दिइनेछ ।
  • स्थानिय स्तरमा छिटोछरितो तरिकाले विश्वासनिय रोग निदान सेवा प्रवाह गर्नको लागि आधारभुत प्रयोगशाला स्थापना गरी नमुना संकलन परिक्षण तथा अन्वेषण गरिनुका साथै भेटेरनरी डिस्पेन्सरी सेवा शाखा तथा सेवाकेन्द्रबाट निरन्तरता दिइनेछ ।
  • उत्कृष्ट कृषकहरूलाई गाउँपालिकाबाट सम्मान गर्ने व्यवस्था मिलाइनेछ । लघु उद्यम कार्यक्रम अन्तर्गत सीप विकास तथा आर्यआर्जन गर्न तालिम, प्रशिक्षण तथा समूहमा प्रविधि हस्तान्तरणको व्यवस्था मिलाइनेछ ।
  • सङ्घ तथा प्रदेश सरकारसँगको साझेदारीमा किसान सूचीकरण गरी किसान परिचयपत्र कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • सङ्घ र प्रदेश सरकारसँगको सहकार्य र समन्वयमा भू- उपयोग योजना तर्जुमा गरि गाउँपालिका क्षेत्रभित्र रहेका ऐलानी तथा सार्वजनिक जग्गाको संरक्षण र उपभोग गर्ने नीतिलाई निरन्तरता दिदै जग्गा उपभोग गरे वापत् कानुनबमोजिम गाउँपालिकामा राजश्व तिर्नुपर्ने नीतिलाई निरन्तरता दिइनेछ र भूमीसम्बन्धी समस्या समाधान आयोगसँगको समन्वयमा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासको समस्या समाधान पहल गरिनेछ।
  • रोजगारी सृजनाका लागि लघुउद्यम व्यवसाय सञ्चालन प्रोत्साहन गरिनेछ। विशेष गरी महिला उद्ममीहरूबाट उत्पादित वस्तुहरू सङ्कलन गरी विक्री गर्न तथा उद्यमीहरूलाई आवश्यक पर्ने कच्चा पदार्थ, मेसिन औजार उपलब्ध गराउन आवश्यक व्यवस्था गर्नुका साथै विभिन्न किसिमका उद्यममा  आधारित सीप मूलक तालिमहरुलाई प्रदान गरिने छ ।
  • गाउँपालिका देखि कुशे पाटन पर्यटनमार्ग निर्माण गरि पर्यटनको आकर्षक गन्तव्यको रुपमा विकास गरिनेछ ।
  • पर्यटन प्रवर्धनका लागि कुशे गाउँपालिका भित्र होमस्टे सञ्चालनको लागि सम्भावित क्षेत्र पहिचान गरि होमस्टे स्थापनाका लागि पहल गरिनेछ।
  • गाउँपालिका क्षेत्रको विकास र समृद्बिका लागि अन्य स्थानिय तह र विभिन्न देशका सहरहरु संग भगिनी सम्बन्ध स्थापना तथा विस्तार गर्न आवश्यक पहल गरिनेछ ।
  • साहित्य, कला, सांस्कृतिक सम्पदा हाम्रो मौलिक पहिचान हुन्। त्यसैले सु-संस्कृति, कला, लोकसङ्गीत, पुरातात्विक सम्पदाहरूको संरक्षण तथा जगेर्ना गरिनेछ। साहित्यिक प्रतिभाहरूको संरक्षणका लागि सृजना खोज तथा प्रकाशनको प्रबन्ध मिलाइनेछ।
  • कुशे गाउँपालिका क्षेत्रभित्रका प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत बेरोजगारहरूलाई रोजगारी प्रदान गरिनेछ साथै बैदेशिक रोजगार बाट फर्किएका सीपयुक्त जनशक्तिहरुलाई पुनः स्थापित गर्न मागका आधारित तालिम तथा ब्यवसाय सञ्चालन गरिनेछ।
  • आन्तरिक रोजगार तथा स्वारोजगारीका अवसरहरुको सिर्जना गर्न ५ वर्षे रोजगार रणनिती निर्माण गरि कार्यान्वयनमा ल्याइनेछ।कुनै पनि काम ठुलो या सानो हुदैन भन्ने भावनाको जागृति गराई श्रमको सम्मान कुशे गाउँपालिकाको अभियान कार्याक्रम संचालन गरिनेछ ।
  • वरोजगार व्यक्तिहरुको तथ्याङक संकलन तथा विश्लेषण गरि रोजगार सूचना व्यवस्थापन प्रणाली EMIS मा वेरोजगारको सुचि अध्यावधिक र व्यवस्थित गरिनेछ। वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको लागि श्रम स्वीकृत र पुनःश्रम स्वीकृतीको कार्यलाई प्रभावकारी तरिकाले कार्यान्वयन गरिनेछ ।

सामाजिक विकास

  • शैक्षिक क्षेत्रको योजनाबद्ध विकासका लागि गाउँ शिक्षा योजना, विद्यालय सुधार योजना, शैक्षेणिक योजना निर्माण जस्ता कार्यलाई प्राथमिकता दिइ आवश्कता अनुसार समिक्षा तथा पुनर्लेखन गरिने छ । जसबाट सम्बद्ध पक्षको सीप क्षमतामा विकास हुने अपेक्षा गरिएको छ ।
  • बालविकास देखि विद्यालय उमेर समुहका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गराउने र टिकाउने नीति लिइ खुद भर्नादर बढाइने तथा विद्यार्थी भर्नामा देखिने दोहोरोपन र संख्या थप गर्ने प्रवृतिलाई पूर्णतया निरुत्साहित गरि विद्यार्थी भर्ना संख्यामा बृद्धि गर्न भर्ना अभियान,घरदैलो कार्यक्रम, प्रोत्सहान, छात्रवृति वितरण तथा घरमा आधारित विद्यालय जस्ता कार्यक्रमलाई आवश्यक्ता र ‌औचित्यताको आधारमा परिमार्जन र सुधार गर्दै लगिने छ ।
  • विद्यालय तथा कक्षा कोठामा शिक्षक विद्यार्थीको दैनिक उपस्थितिलाई वृद्धि गरी अधिकतम बिन्दुमा पुर्याउन एक संयन्त्र विकास गरी मागका आधारमा इ-हाजिरीको समेत प्रयोग गर्न प्रेरित गरी ‘मेरो हाजिरी, मेरो जिम्मेवारी’ कार्यक्रम लागु गरिने छ ।
  • अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ मा राखिएका प्रावधानहरुको कार्यान्वयन र अनिवार्य तथा निःशुल्क शिक्षा प्रदायक कुशे गाउँपालिका घोषणा २०८० को मर्म अनुसार कार्य गरिने र  गाउँका विद्यालयमा भर्ना भइ शहरका विद्यालय तथा निजी विद्यालयमा पढ्न जाने परिपाटिलाई निरुत्साहित गरिने छ ।
  • नेपाल स्काउटलाई विद्यालयमा संचालन गर्न विशेष निति लिईनेछ ।
  • विद्यालयमा सिकाइ वातावरण सुधारको लागि मूख्य कडीको रुपमा रहेको परीक्षा तथा मूल्याँकन प्रणालीलाई सुधार गर्न विशेष गरी आधारभूत तहको कक्षा १-३ मा अध्ययनरत विद्यार्थीहरुका लागि प्रोटोफोलियो निर्माण गरी मूल्याँकन तथा कक्षा ५,८ र १० को परीक्षालाई स्वच्छ र मर्यादित गरिनुका साथै केन्द्र निर्धारण, कपि परीक्षण, प्रश्नपत्र निर्माण तथा मापन मूल्याँकनका क्षेत्रमा सुधार गरिने छ ।
  • विद्यालय, कक्षा कोठा, छाना, खानेपानी , शौचालय र बसाइ ब्यवस्थापन जस्ता पूर्वाधार विकास गरी विद्यालयमा स्मार्ट बोर्ड तथा डिजिटल माध्यमको प्रयोगलाई प्राथमिकता दिइ ‘विद्यालयको समृद्धि, पढाइमा प्रविधि’ को प्रयोग गरिने छ ।
  • विद्यार्थीको सिकाइमा अभिभावकको संलग्नता बढाइ शैक्षिक वातावरण सुधार गर्न अभिभावक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन ‘मेरो सन्तान, मेरो संलग्नता’ कार्यक्रमलाई विशेष महत्वका साथ अगाडि बढाइने छ ।
  • विद्यालयमा पढाइ महोत्सव, तालिम, गोष्ठि, सेमिनार र योग तथा साधना जस्ता कार्यक्रम संचालन गरि शिक्षकको क्षमता विकास गरिनुका साथै प्रधानाध्यापक बैठकमा विषयगत प्रस्तुति गर्न शिक्षक तथा प्रधानाध्यापकलाई प्रोत्साहित गरिने छ ।
  • बालवालिकासँग ‘अध्यक्षउपाध्यक्ष कार्यक्रम’ संचालन गरि विद्यार्थी र विशेष गरी बालिकाहरुसँग साक्षातकार कार्यक्रमहरु संचालन गरिने छ ।
  • बालबालिकामा पोषणको मात्रा प्रबर्द्धन गर्न स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रमलाई अझ प्रभावकारी बनाइ स्थानीय उपजमा आधारित खाजा खुवाउने ब्यवस्थाको सुनिश्चतता गरि भान्सा निर्माण तथा स्टोर ब्यवस्थापन कार्यलाई महत्व दिइने छ ।
  • उच्च शिक्षा अध्ययन र योग्य जनशक्तिको पलायनलाई रोक्न अध्यक्ष छात्रवृति कोषको स्थापना गरी सीप युक्त जनशक्तिलाई स्थानीय तहमै बसी योग्दान गर्न सक्ने वातावरण निर्माण र स्रोत परिचालन गरिने छ ।
  • बालबालिकामा स्वस्थ प्रतिष्पर्धा र अतिरिक्त क्षमता विकासका लागि ‘हरेक शुक्रवारहातमा पुरस्कार’ भन्ने कार्यक्रम प्रभावकारी रुपमा संचालन गरिने छ ।
  • राष्ट्रपति रनिङ्ग शिल्ड र खेल क्षेत्रलाई प्रभावकारी बनाउन खेलाडि तथा खेल शिक्षकको सीप क्षमता विकास गर्न आवश्क्ता अनुसार लगानी बढाइने छ ।
  • विद्यालयमा कमि भएका शिक्षक, बिषयगत शिक्षकको ब्यवस्था र लामो बिदामा बसेका महिला शिक्षकको अनुपस्थितिमा हुन गएको पठन पाठनलाई पूर्ति गर्न बिगत देखि दिइदै आएको शिक्षण सिकाइ अनुदानलाई निरन्तरता दिइने छ ।
  • गाउँपालिका रहेका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या र शिक्षकको दरबन्दी तुलनात्मक रुपमा अध्ययन गरी विद्यालय भौतिक सर्भेक्षण नक्साङ्कन तथा समायोजन कार्यविधि अनुसार आवश्यकताका आधारमा विद्यालय मर्ज गरिदै लिइनेछ ।
  • आयुर्वेद, प्राकृतिक तथा होमियोपेथी एवम् वैकल्पिक चिकित्सा पद्धतिको विकास र विस्तार गरिनेछ। योगा, प्रशिक्षण संरचना निर्माण गरिनेछ। SAMi कार्यक्रम मार्फत वडा, टोल तथा बस्तीसम्म मनोसामाजिक परामर्श सेवा संचालन गरिनेछ ।
  • गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरुमा सुत्केरी हुन नसकि Refer गरिएका सुत्केरीहरुलाई तोकिएको अस्पतालसम्म पुर्‍याउन निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने आवश्यक व्यवस्था मिलाईनेछ । साथै बर्थिङ्ग सेन्टरलाई व्यवस्थित गरी घुम्ती सेवा मार्फत गर्भवती महिलाहरुलाई भिडियो एक्सरे गर्ने व्यवस्था मिलाइनेछ र एकल महिला घरमुली भएका र विपन्न दलित घरपरिवार पहिचन गरि गाउँपालिकाले स्वास्थ्य विमा कार्यक्रममा आवद्ध गर्न पहल गरिनेछ ।
  • रोग लागेपछि उपचार गरेर सन्चो हुनुभन्दा रोग लाग्न नदिनु नै वुद्धिमानी हुन्छ भन्ने मान्यतालाई आत्मसात गरिनेछ। स्वस्थ जीवनशैलीतर्फ प्रोत्साहनका लागि समुदाय स्तरमा सामाजिक परिचालनका माध्यमबाट स्वास्थ्य जागरण तथा प्रवर्दनात्मक कार्यक्रम सञ्चालन गरिनेछ। महिला स्वास्थ्य स्वयंसेविकाहरूले गर्नु भएको सेवालाई कदर गर्दै थप उत्साहित गर्न यातायात खर्च, पोसाक भत्ता तथा प्रोत्साहन भत्ताको व्यवस्था गरिनेछ।
  • गाउँपालिका क्षेत्र भित्र १५ शैयाको अस्पताल निर्माण कार्यका लागि आवश्यक बजेटको व्यवस्थाका लागि पहल गरिएको छ ।
  • तुलनात्मक रूपमा दलितहरू आर्थिक रूपमा विपन्न भए पनि उनीहरू सीपका धनी छन्। उनीहरूको परम्परागत पेसालाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै लिइनेछ। मानव अधिकारको विश्वव्यापी मान्यता अनुरूप दलित अधिकारको संरक्षण गर्ने र जातीय छुवाछुत तथा भेदभाव जस्ता अमानवीय गतिविधिलाई निरुत्साहित गर्न सचेतना मुलक कार्यक्रम सञ्चालन गरिनेछ। महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकहरू लगायतका लक्षित वर्गहरूका लागि सीप विकास तथा आयआर्जन कार्यक्रम सञ्चालन गरिनेछ। बालबालिकाहरूको क्षमता विकासका उपयुक्त अवसरहरू प्रदान गरिनेछ।
  • बाल प्रतिभा पहिचान कार्यक्रम, बालविवाह, छुवाछुत, महिला हिंसा, बालश्रम शोषण, मदिरापान तथा विक्रीवितरण, अन्धविश्वास, कुसंस्कार, कुरीति लगायतका सामाजिक सांस्कृतिक विकृति विसङ्गति विरुद्ध सामाजिक सांस्कृतिक रुपान्तरणको अभियान सञ्चालन गरिनेछ। बालविवाह गर्ने गराउने तथा प्रोत्साहन गर्नेहरूलाई सामाजिक बहिष्कारको नीति अवलम्बन गरिनेछ। विवाह गर्नुपूर्व वडा कार्यालयबाट अनिवार्य सिफारिस लिनुपर्ने व्यवस्था मिलाइनेछ।511125666_3900537150238507_4428457663788752467_n-1750929213.jpg
  • लैगिंक हिंसा विरुद्ध शुन्य सहनशीलताको नीति अवलम्बन गरिने छ। गाउँपालिकाको नीति, कार्यक्रम र बजेटमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण वार्षिक रुपमा गर्ने व्यवस्था मिलाइने छ। लैङ्गिक हिंसा एवम् विभेद विरुद्धका कार्यक्रमहरूको नियमित समीक्षा, अनुगमन मूल्याङ्कन कार्यलाई प्राथमिकता दिइनेछ। महिला, दलित,विपन्न वर्गको क्षमता विकास र दिगो आयआर्जनमा टेवा पुर्‍याउन आयआर्जनमूलक र सीपमूलक तालिमको व्यवस्था गरिनेछ। लागू पदार्थ दुर्व्यसन न्यूनीकरण सम्बन्धी बिद्यालय तथा समुदाय स्तरमा रहेका बालक्लबहरु अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गरिनेछ।महिलाको नेतृत्व विकास सम्बन्धी क्षमता विकासका कार्यक्रमहरु संचालनमा ल्याइनेछ ।
  • जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, बालबालिका लगायतको सहजताका लागि बैङ्क सँगको सहकार्यमा वडास्तरबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाइनेछ ।अपाङगता भएका व्यक्तिहरु लाई सहज रुपमा परिचय पत्र प्राप्त गर्न घुम्तिशिवीर संचालन गरि सोही स्थानबाट परिचयपत्र प्रदान गर्न आवश्यक प्रवन्ध मिलाईनेछ ।
  • गर्भवती तथा किशोरी संग उपाध्यक्ष कार्यक्रमलाई थप व्यवस्थित गरिनेछ र बालमैत्री स्थानीय तह घोषणा कार्यक्रम लाई विशेष अभियानका रुपमा संचालन गरिनेछ ।
  • किशोर किशोरीहरु लाई सरकरात्मक सोच विकासका लागि मनोसमाजिक परामर्श सम्बन्धी कार्यक्रम संचालन गरिनेछ साथै जोखिममा रहेका बालबालिकाहरुको लागि आवश्यकतामा आधारित आपतकालीन सहयोग गरिनेछ ।
  • न्यायिक कार्यलाई स्वच्छ, सक्षम, निष्पक्ष र प्रभावकारी रुपमा कार्यान्यनमा ल्याउन न्यायिक समितिका पदाधिकारीहरु र मेलमिलापकर्ताहरुलाइ समय सापेक्ष क्षमता विकासका कार्यक्रमहरु सचालन गरिनेछ ।
  • सभाका सदस्यहरू,

    पूर्वाधार विकास

  • मुल र सहायक सडक जोड्न अति आवश्यकीय स्थानमा सडकको नयाँ ट्रयाक खोलिनेछ। ट्रयाक खोलिएका सडकहरूको स्तरोन्नती गरिनेछ। सडकहरूको मर्मतसम्भार गरी बाह्रै महिना सञ्चालन हुने व्यवस्था मिलाइनेछ।
  • लैङ्गिक पूर्वाधारको संरचना निर्माण गर्दा स्थानीय श्रम र निर्माण सामग्रीलाई उपयोग गर्नुपर्ने नीति लिइनेछ।
  • भवन लगायतका भौतिक संरचनाहरू भूकम्प प्रतिरोधी राष्ट्रिय भवन संहिता र भवन निर्माण मापदण्डको कडाइपूर्वक लागु गरिनेछ। नक्सा पास गरेर मात्र भवन निर्माण गर्न पाइने कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयन गरिनेछ। नक्सा पास नगरी निर्माण भइरहेका भवनको अनिवार्य रूपमा अभिलेखीकरण गर्ने व्यवस्थालाई प्रभावकारी रूपमा क्रमश कार्यान्वयन गर्दै लगिनेछ ।
  • विद्युत लाइन पुग्न बाँकी वस्तीहरूमा विद्युत लाइन विस्तारका लागि सम्बन्धित निकायसँग आवश्यक पहल गरिनेछ ।
  • गाउँपालिकाका विभिन्न खोलाहरुमा सहज रुपमा आवतजावत गर्नका लागि झोलुङ्गु पुलहरु निर्माण गर्ने आवश्यक बजेट विनियोजनका लगि विशेष पहल गरिनेछ ।
  • उत्पादन र उत्पादकत्व वृद्धि गर्न सङ्घ तथा प्रदेश सरकारसँगको साझेदारीमा सुख्खा खेतीयोग्य भूमिमा सिंचाइ सुविधा विस्तार गरिनेछ।
  • एक घर एक खानेपानी धारा को अभियानलाई  थप विस्तार र व्यवस्थित गरिनेछ। सबै आयोजनाहरू सम्बन्धित उपभोक्ताहरूलाई हस्तान्तरण गरी मर्मत सम्भारमा जिम्मेवार बनाइनेछ।
  • गाउँपालिका क्षेत्रभित्रको सञ्चार सेवालाई व्यवस्थित, गुणस्तरिय र प्रभावकारी बनाउन नेपाल टेलिकम र इन्टरनेट सेवा प्रदायक संस्थाहरूसँगको सहकार्यमा व्यवस्थित र गुणस्तरीय बनाउनका आवश्यक पहल गरिनेछ ।
  • विकास निर्माण र संरक्षणमा स्थानीय समुदायलाई जिम्मेवार बनाइनेछ। सडक, विद्युत लगायतका पूर्वाधार विस्तारमा अवरोध गर्ने तथा विकास विरोधी गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइनेछ।
  •  

      सभाका सदस्यज्यूहरू,

    वन, वातावरण तथा विपद् व्यवस्थापन

  • स्वच्छ वातावरणस्वच्छ जीवन हरियाली कुशे गाउँको अभियान सञ्चालन गरिनेछ। जलाधार क्षेत्र र पानीका मुहानहरूको संरक्षणका लागि सुख्खा डाँडा तथा खोला किनारका फाँटमा वृक्षारोपण अभियानका संचालन गरिनेछ । सामुदायिक वन उपभोक्ता समितिलाई वन तथा वन्यजन्तु संरक्षणमा जागरूक र क्रियाशील बनाइनेछ।
  • वन तथा वातावरण जोगाउन तथा घरभित्रको धुँवा नियन्त्रण गरी भान्छामा काम गर्ने महिलाहरूको स्वास्थ्यमा पर्ने असर न्यूनीकरण गर्न सुधारिएको चुलो बनाउने कार्यलाई प्रोत्साहन गरिनेछ।
  • पूर्वाधार विकास गर्दा हुनसक्ने भूक्षयलाई कम गर्नका लागि बायोइन्जिनियरिङ पद्धतिलाई अवलम्बन गरिनेछ।
  • वातावरण अनुकूल दिगो विकासको लागि कानुनबमोजिम सङ्क्षिप्त वातावरणीय अध्ययन वा प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने व्यवस्थालाई कडाइपूर्वक कार्यान्वयन गरिनेछ।
  • विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना कार्यान्वयन गरी सोहीअनुसार विपद् व्यवस्थापनका कार्यहरू अगाडि बढाइनेछ। स्थानीय विपद् तथा जलवायु उत्थानशील योजनाको कार्यान्वयन गरिनेछ।
  • प्रकोप व्यवस्थापन कोषलाई थप व्यवस्थित गरिनेछ। सङ्घ तथा प्रदेश सरकारसँगको साझेदारीमा प्राकृतिक प्रकोपको कारण घर संरचना पूर्ण रुपमा नष्ट भएका, जोखिमपूर्ण अवस्थामा रहेका वा आंशिक रूपमा क्षति भएका घरपरिवारको घर संरचना प्रबलीकरण, पुर्ननिर्माण तथा पुर्नस्थापनाका लागि आवश्यक पहल गरिनेछ।
  • खेतीयोग्य जमीन कटान रोक्न तथा भूक्ष्यको जोखिम न्यूनीकरण गर्न वृक्षारोपण र तटबन्ध निर्माण गर्ने कार्यको व्यवस्था मिलाइनेछ।
  • कुशे गाउँपालिका बारेकोट गाउँपालिका र तातोपानी गाउँपालिकाको सिमानामा कुशे पाटन शिकार आरक्ष बनाइनका लागि यस पालिकाले सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भईसकेकोले शिकार आरक्ष घोषणका लागि संघिय सरकारसँग समन्वय गरी आवश्यक पहल गरिनेछ ।
  •  

    सभाका सदस्यज्यूहरू,

    सुशासन तथा संस्थागत विकास

  • कुशे गाउँपालिकावाट प्रदान गरिने सेवाहरूलाई सहज, छिटो छरितो, पारदर्शि, समावेशी र नागरिकमैत्री बनाउनएकीकृत सेवा प्रवाह सञ्चालन केन्द्र (One Stop Service Delivery, OSSD) सञ्चालन गरिने छ।
  • यस गाउँपालिकामा दर्ता भएका तर वार्षिकरुपमा नवीकरण नभएका उद्योग, निजी फर्म र  व्यवसायीहरूको विल जारी गर्न र नवीकरणका लागि मोवाइल  सूचना प्रवाह हुने व्यवस्था मिलाइनेछ। कार्यालयसँगको सहज सम्पर्कका लागि टोल फ्री नम्बर सञ्चालनमा ल्याइनेछ।
  • कुशे गाउँपालिकावाट प्रवाह हुने सेवा सुविधा प्रति नागरिकको सेवा प्रतिको सन्तुष्टि मापन गर्ने कार्यलाई प्राथमिकता दिईने छ। साथै गाउँपालिकासँग सम्बन्धित नागरिकका गुनासोहरूलाई सम्बोधन गर्न प्रविधिको प्रयोग गरि गुनासोहरुको सङ्कलन, सुनुवाइ र सम्बोधन कार्यलाई व्यवस्थित गरिने छ।
  • गाउँपालिकाको संस्थागत सुशासन र मानव संसाधन विकासका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी सङ्घसंस्थाहरूसँग सहकार्य गर्ने नीतिलाई निरन्तरता दिइने छ। कार्यालयको सेवा प्रवाहलाई थप व्यस्थित र प्रभावकारी बनाउननागरिक सहायता कक्ष सञ्चालन गरिनेछ। जेष्ठ नागरिक, गर्भवती र सुत्केरी महिला, बालबालिका, अपाङ्गता भएका सेवाग्राहीहरूलाई सेवामा पहिलो प्राथमिकता दिइनेछ।
  • सार्वजनिक सेवालाई पारदर्शी, जवाफदेही, दिगो र परिणाममुखी बनाउँदै नागकिलाई सूचना, सेवा र अवसरमा विभेद रहित पँहुच अभिवृद्धि गर्न विद्युतीय सूचना प्रणाली (E-Governance System) को नीति अवलम्बन गरिनेछ। साथै, जनप्रतिनिधि र कर्मचारीहरुको प्रभावकारी कार्यसम्पादनका लागि आवश्यक विषयगत र क्षेत्रगत क्षमताको विश्लेषण मार्फत संस्थागत सुशासन कायम गर्ने  नीति लिईने छ। कुशे गाउँपालिको वस्तुस्थिति झल्किने गरि डिजिटल गाउँ पाश्वचित्र (Village Digital Profile) निर्माण गरि नियमित अद्यावधिक गर्ने व्यवस्था मिलाइने छ । GIS Based House Numbering गर्ने कार्यलाई प्राथमिकता दिइने छ।
  • कुशे गाउँपालिकामा अभिलेखहरुको दिगो व्यवस्थापनका लागी डाटा सर्भरलाई थप व्यवस्थित गरि अभिलेखीकरण गरिनेछ।
  • गाउँपालिकाबाट सम्पादन हुने सार्वजनिक सेवाप्रवाहलाई प्रविधिमैत्री बनाइनेछ। डिजिटल नागरिक बडापत्र लगायत नवीनतम् सूचना प्रविधिको उच्चतम् उपयोग गरिनेछ। सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय, परिणामुखी, चुस्तदुरुस्त, छिटोछरितो, पारदर्शी र अनुमानयोग्य बनाउने नीति लिइनेछ। गाउँ कार्यपालिकाको कार्यालयलाई थप व्यवस्थित बनाइ सेवा प्रवाहलाई सहज बनाइनेछ।
  • गाउँका रणनीतिक महत्त्वका आयोजनाहरूको पूर्व सम्भाव्यता अध्ययनसहित विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार पारी सङ्घ तथा प्रदेश सकारसँगको साझेदारीमा निर्माण कार्य अगाडि बढाइनेछ। अन्धाधुन्द बजेट विनियोजन हुने प्रवृत्तिलाई अन्त्य गर्न मागको आधारमा नभइ आवश्यकताको आधारमा बजेट विनियोजन गर्ने नीति अख्तियार गरिनेछ। साना र प्रतिफल नदिने फजुल खर्च हुने आयोजनाहरूमा बजेट विनियोजन गरिने छैन। लगानी गर्दा प्रतिफल प्राप्त हुने कुरालाई सुनिश्चित गरिनेछ।
  • सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउन वडा कार्यालयका भवनहरु निर्माण कार्यमा जोड दिएको छ। वडाहरूमा प्रशासनिक तथा पूँजीगत बजेट निश्चित मापदण्डको आधारमा मात्र विनियोजन गरिनेछ। दामासाही किसिमले बजेट विनियोजन गर्ने प्रवृत्तिलाई अन्त्य गरिनेछ। सङ्घ र प्रदेशबाट विनियोजित बजेटमा दोहोरो पर्ने किसिमले बजेट विनियोजन गरिने छैन।
  • विकास निर्माण कार्यमा गुणस्तर कायम गर्न दक्ष जनशक्ति, स्थानीय श्रमिकको सहभागिता तथा अनुगमन र मूल्याङ्कन प्रणालीलाई थप प्रभावकारी बनाइनेछ। नतिजामूलक अनुगमन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ।
  • सिर्जनशील्तालाई प्रोत्साहन, उत्कृष्टलाई पुरस्कार र खराबलाई दण्डको मान्यता अनुरूप उत्कृष्ट कार्य सम्पादन गर्ने राष्ट्रसेवक, शिक्षक,  कर्मचारी तथा जनप्रतिनिधिलाई पुरस्कृत गरिनेछ। कार्यसम्पादनलाई परिणामुखी बनाउन सबै शाखा प्रमुख, वडा सचिव, स्वास्थ्य संस्था प्रमुख, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग कार्यसम्पादन करार सम्झौता गरी सूचकहरूको आधारमा मूल्याङ्कन गर्ने व्यवस्था मिलाइने छ।
  • राजश्वको दायरा फराकिलो गरी राजश्वको विविधिकरण एवम् विस्तारीकरणमा जोड दिइनेछ। समयमै बेरुजु फछ्यौट गर्ने कार्यलाई कडाइ साथ लागु गरिनेछ। आर्थिक वर्ष २०८२/०८३ लाई बेरुजु फर्च्यौट वर्षका रूपमा लिइनेछ।
  • कर सङ्कलनको कार्यलाई सरल, सहज, सुलभ र करदातामैत्री बनाइनेछ। करदाताहरूको विवरण अद्यावधिक गरी नियमित रुपमा कर तिर्ने करदातालाई सम्मान गर्ने व्यवस्था मिलाइनेछ। सेवा प्रवाहमा नियमानुसारका कर तिरेको हुनुपर्ने बाध्यकारी व्यवस्था गरिनेछ।
  • राजश्व सङ्कन गर्ने गाउँ कार्यपालिका कार्यालय र सोअन्तर्गतका निकायहरूको वार्षिक लक्ष्य निर्धारण गरी समयमै असुल गर्ने कार्यलाई प्राथमिकता दिई लागु गरिनेछ साथै गाउँपालिकाको आन्तरीक स्रोत वढाउन प्रत्यक वर्षको फागुन महीनामा राजस्व संकलन अभियान सञ्चालन गरीनेछ ।
  • मुस्कानसहितको सार्वजनिक सेवा प्रवाह गाउँपालिकाको मुलभूत आदर्श हुनेछ। सरल, सहज र नियमित रुपमा सूचना उपलब्ध गराइ सूचनाको हकको प्रत्याभूति गराइनेछ। पारदर्शिता र जनउत्तरदायी एवम् सुशासन प्रवर्द्धनका लागि गाउँ कार्यपालिकाको कार्यालय र सो मातहतका सबै निकायले त्रैमासिक रुपमा सार्वजनिक सुनाइ गर्ने व्यवस्था मिलाइनेछ। सभा, सम्मेलन, बैठक लगायतका औपचारिक कार्यक्रमहरू निर्धारित समयमै सुरु र अन्त्य गर्ने संस्कारको विकास गरिनेछ।
  • स्थानीय एफ.एम. रेडियो, पत्रपत्रिका र अनलाइनलाई व्यवस्थित गरिनेछ। नागरिक हित र काल्याणका कार्यक्रम उत्पादन र प्रसारणका लागि सञ्चार माध्यमहरुसँग साझेदारी गरिनेछ।
  • गाउँपालिकाद्धारा गाउँआम संचार निती २०८२ तयार पारी स्थानीय सरकार र संचार क्षेत्र विचको सहकार्य र लोकतन्त्रको आधार शिला सुद्धढ गर्न आवश्यक पहल गरिनेछ ।
  • सञ्चार माध्यमहरूलाई लोककल्याणकारी विज्ञापनको समानुपातिक वितरण गर्न आवश्यक प्रबन्ध मिलाइनेछ। विज्ञापनका लागि समयमै सूचीकृत हुनुपर्ने व्यवस्थालाई बाध्यकारी बनाइनेछ।
  • जनप्रतिनिधि तथा स्थानीय सरकार अन्तर्गत काम गर्ने कर्मचारी र शिक्षक सबैलाई कार्यसम्पादन, जनसम्बन्ध, प्रशासन लगायतका विषयमा तालिम दिने, अनुगमन गर्ने, दण्ड र पुरस्कारको व्यवस्था गर्ने र मासिक समीक्षा तथा मूल्याङ्कन गर्ने पद्धतिको विकास गरिनेछ। स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन पद्धति नमुना कार्यालय मापदण्ड लगायतका कार्यसम्पादनस्तर मापन गर्न विकास गरिएका प्रणाली र कानुनी व्यवस्थाहरूको कडाइपूर्वक कार्यान्वयन गरिनेछ।
  • सङ्गठन संरचना र दरबन्दी विवरणअनुसार कर्मचारीको व्यवस्था गरिनेछ। चुस्त र दुरुस्त सङ्गठन निर्माण गरिनेछ। करार सेवामा कार्यरत राष्ट्र सेवक कर्मचारीहरुलाई निजको कार्य सम्पादन र मूल्याङ्कनको आधारमा सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन आवश्यक व्यवस्था मिलाइनेछ ।
  • आफ्नो क्षेत्राधिकारभित्र रही विवादको दीगो समाधान अर्थात् जीत जीतको अवस्था बनाउन मेलमिलापलाई प्राथमिकता दिनु सान्दर्भिक हुन्छ। त्यसका लागि न्यायीक समितिलाई सरल, सहजका साथै सुव्यवस्थित र चुस्तदुरुस्त बनाइनेछ। न्यायीक समिति, वडाका मेलमिलाप केन्द्रका पदाधिकारी तथा स्थानीय अगुवाहरूका लागि न्यायिक सचेतना तथा कानुनी शिक्षा प्रदान गरिनेछ साथै विपन्न महिलालाई मुद्बाको लागी आर्थिक सहयोग कार्यक्रमको कार्यविधि निर्माण गरिनेछ।
  • कुशे गाउँपालिकामा कार्यक्षेत्र बनाइ काम गर्ने गैरसरकारी सङ्घ संस्थाहरूले आफ्नो बजेट तथा कार्यक्रम अनिवार्य रूपमा गाउँ कार्यपालिकाबाट स्वीकृत गराइ कार्यान्वयन गर्नुपर्ने बाध्यकारी व्यवस्था लागू गरिनेछ।
  • नागरिक सुरक्षा, न्यायीक समितिका निर्णय कार्यान्वयन, सार्वजनिक सम्पत्तिको सुरक्षा तथा विपद् र विकास निर्माण कार्यलाई व्यवस्थित बनाउन गाउँ प्रहरी भर्ना गर्ने कार्यलाई प्राथमिकता दिइनेछ ।
  •  

    अन्त्यमा, यो नीति तथा कार्यक्रममा महत्वपूर्ण सल्लाह, सुझाव र परामर्श दिएर सहयोग गर्नुहुने अग्रज व्यक्तित्वहरू, गाउँ कार्यपालिका र गाउँ सभाका सदस्यहरू, सबै राजनीतिक दल एवम् भातृसङ्गठनका प्रतिनिधिहरू, राष्ट्रसेवक कर्मचारीहरू, शिक्षक, वुद्धिजीविहरू, सुरक्षाकर्मी, निजी क्षेत्र, नागरिक समाज, सञ्चारकर्मी लगायत सबैमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछु। धन्यवाद १

    हरिचन्द्र बस्नेत
    गाउँपालिका अध्यक्ष510862969_5066796650213151_7316274331709050293_n-1750929164.jpg

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १४:५९
प्रतिक्रिया दिनुहोस्