सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बाँके । कर्णालीको स्याउ सस्तोमा उपलब्ध भएपछि नेपालगञ्ज आसपासका क्षेत्रमा यस वर्ष तीजको कोसेलीका रूपमा घरघरमा पुगेको छ ।
नेपालगञ्जस्थित धम्बोझीमा कर्णालीको स्याउ खरिद गरिरहेकी प्रकृति रानाले तीजमा खान, साथीसङ्गी तथा आफन्तकहाँ जाँदा कोसेली लैजान कर्णालीको स्याउ स्वादिलो र सजिलो भएको प्रतिक्रिया दिइन् ।
“सिजनको जुम्ली स्याउ स्वादिलो र रसिलो हुने भएकाले नेपालगञ्जबाट अन्यत्र जाँदा तीजमा कोसेलीका रूपमा लैजान सहज भएको छ”, उनले भनिन्, “विदेशी स्याउको तुलनामा कर्णालीको स्याउ स्वादिष्ट र सस्तो भएकाले यो वर्ष धेरैको रोजाइमा परेको छ ।”
आयातीत भारतीय र चीनको भन्दा सस्तो, स्वादिलो र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले नेपालगञ्जवासीको रोजाइमा कर्णालीको स्याउ परेको छ । नेपालगञ्ज उपमहानगरपालिका–१९ का ध्रव थापाले यस वर्षको तीजमा कर्णालीको स्याउ कोसेलीका रूपमा १५ किलो खपत गरेको बताए ।
स्थानीय धम्बोझी चोकमा तीजलाई लक्षित गरेर केही दिनयता कर्णालीको स्याउ किनबेचको भीडभाड हुँदै आएको छ । उक्त चोकमा कर्णालीकै महिलाले भदौको पहिलो हप्तादेखि नै स्याउको बिक्री–वितरण गर्दै आएका छन् । जुम्लाको गुठीचौर गाउँपालिका–४ बाट ल्याइएको स्याउ बिक्री–वितरण गरिरहेकी कल्पना शर्माले अरू बेलाभन्दा तीजमा स्याउको बिक्री धेरै हुने गरेको बताइन् ।
फलफूल पसलमा पुग्ने जुनसुकै उपभोक्ता पनि पछिल्लो समय कर्णालीकै स्याउ किन्ने गरेको पाइएको छ । नेपालगञ्जको त्रिवेणी मोडस्थित पुरानो फलफूल पसल महाराजा फ्रुटका सञ्चालक कमल सुनारले यतिबेला कर्णालीको स्याउको माग धेरै हुने गरेको बताए । उनले आफ्नो पसलमा आउने उपभोक्ताले कर्णालीको स्याउ नै खोज्ने गरेको जानकारी दिए ।
कर्णाली प्रदेशका जिल्लामा उत्पादित स्याउ बजारमा आएपछि भारत र चीन दुवै ठाउँबाट आउने स्याउको आयात घटेको छ । खासगरी जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको स्याउ ठूलो मात्रामा यहाँ भित्रिएको यहाँस्थित थोक बिक्रेता प्रेमलाल साहुले बताए ।
नेपालमा उत्पादित स्याउ अहिले प्रतिकिलो रु १२० देखि रु १५० सम्ममा पाइएकाले जो कोहीका लागि तीजको कोसेली बनिरहेको छ । नेपालगञ्जलगायत आसपासका बजारमा पछिल्लो समय जताततै कर्णालीकै स्याउ बिक्री भइरहेको साहुले बताए । रासस