सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौं । समाजसेवा भन्ने शब्द सुन्दा सम्मान र भरोसा आउँछ। तर यही समाजसेवाले कसैको जीवन नै उजाडिदिन सक्छ भन्ने उदाहरण बनेका छन्— हेम थापा।
नेपाल, नेपाली र आफन्तप्रतिको निस्वार्थ सहयोगकै क्रममा उनले धन, सम्पत्ति, स्वास्थ्य, परिवार र आफन्त सबै गुमाएको पीडादायी खुलासा गरेका छन्।
थापाका अनुसार उनले जीवनमा कहिल्यै सजिलो बाटो रोजेनन्। “रगत र पसिना बगाएँ, आफू रित्तिएँ, रोएँ, गाली खाएँ, बेजेती सहेँ, सुकुम्बासीसम्म बनेँ,” उनको शब्दमा, समाजसेवा उनको धर्म थियो—तर अन्ततः त्यही धर्म उनका लागि श्राप बन्यो।
८५ हजार पीडित, ३५ करोड सहयोग
विदेशमा रहेर थापाले हालसम्म
८५ हजारभन्दा बढी दुखी तथा पीडितलाई
झन्डै ३५ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गरिसकेको दाबी गरेका छन्। त्यसमध्ये आफन्तहरूलाई मात्र ५ करोडभन्दा बढी सहयोग गरेको उनको भनाइ छ। तर दुःखको कुरा, “पैसा हुँदासम्म हेम थापा, पैसा सकिएको सेकेन्ड ‘हेम थापा RIP’ जस्तो व्यवहार भयो,” भन्दै उनले समाजको दोहोरो चरित्रमाथि प्रश्न उठाएका छन्।
‘नेपाली स्वार्थी रहेछन्’ भन्ने निष्कर्ष
थापाको गुनासो छ— आर्थिक, नैतिक र भौतिक रूपमा साथ दिँदा पनि कहिल्यै राम्रो सोचाइ पाएनन्। बरु प्रयोग गरियो, लात हानियो र अपमानको वर्षा भयो। “पैसा पाउनेबेला चाकडी, पैसा सकिएपछि गाली,” उनले आजको समाजलाई स्वार्थी र संवेदनाहीन भएको आरोप लगाएका छन्।
प्रश्न समाजप्रति
हेम थापाको कथाले गम्भीर प्रश्न उठाएको छ— के नेपालमा निस्वार्थ समाजसेवाको कुनै मूल्य छैन? किन सहयोग गर्ने हात नै अन्ततः एक्लिन्छ? समाजसेवी आफैं असुरक्षित हुने अवस्था किन बन्छ? उनको अनुभव केवल व्यक्तिगत पीडा होइन, यो समाजसेवाको नाममा मौन शोषण भइरहेको यथार्थको दस्तावेज हो।