आरोग्य पर्यटनको अवधारणापत्र सार्वजनिक

आइतबार, वैशाख ७, २०८२

चितवन l पर्यटनमा आरोग्यलाई जोड्न सके अर्थतन्त्रको राम्रो आधार बन्ने शनिबार साँझ भरतपुरमा सार्वजनिक भएको आरोग्य पर्यटनको अवधारणापत्रमा उल्लेख छ । आरोग्य अध्ययन केन्द्र, जीवन विज्ञान प्रतिष्ठानले उक्त अवधरणापत्र निर्माण गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल लगायतको उपस्थितिमा सो अवधारणापत्र सार्वजनिक भएको हो ।

नेपाललाई सगरमाथाको देश, गौतम बुद्धको देश, प्राकृतिक सौन्दर्यको धनी देश भनेर चिनाए पनि सबै सम्भावना र अवसरलाई एउटा मूल तत्त्वमा आवद्ध गर्दै ब्राण्डिङ गर्न नसकेको आरोग्य पर्यटनको अवधारणापत्र बनाएका नेपाल सरकारका पूर्व मुख्य सचिव बैकुण्ठ अर्यालले बताए । ‘त्यो मूल तत्व हो आरोग्य । यसलाई ब्राण्डिङ गरौं,’ उनले भने । अर्याल आरोग्य अध्ययन केन्द्रले जारी गरेको अवधारणापत्रको संयोजक हुन् ।

मानिसले लालसा राख्ने तीनवटा मुख्य कुराहरु भौतिक सुख, स्वस्थ शरीर र खुसी रहेको अर्याल बताउँछन् । ‘भौतिक सुख, स्वस्थ शरिरसँगै दिगो खुसी हामीलाई आवश्यक छ । हामीले लालसा राख्ने तीनवटा कुराको परिमार्जित सम्मिश्रण नै आरोग्य हो,’ अर्यालले आफ्नो अवधारणापत्रमा उल्लेख गरेका छन् । पर्यटनले पनि यही नै खोज्ने भएका कारण नेपालमा यसको सम्भावनाहरु भएको तर खोजी र प्रवर्द्धन आवश्यक रहेको उनले बताए ।

भौतिक सुखमा योग र ध्यानलाई जोड्ने हो भने शरीर र मन दुवै स्वस्थ र सवल हुने अर्याल बताउँछन् । नेपालको पर्यटनमा धेरै खाले विविधता भएको प्राकृतिक, भौगोलिक र जैविक विविधतादेखि सामाजिक रहन सहन संस्कृति, साहसिक पर्यटन जस्ता विविध नौवटा क्षेत्रलाई आरोग्य पर्यटनको आधार बनाउन सकिने उनले बताए । नेपाली पर्यटनका हरेक विशेषतालाई ध्यान र योगसँग जोड्न सकिने उनको भनाइ छ ।

‘पर्यटन विस्तारका लागि भएका अहिलेसम्मका क्रियाकलापले न संख्या राम्रोसँग बढ्यो, न पर्यटकको बसाइ लम्बियो । हामीले पर्यटनलाई आरोग्यसँग जोडे संख्या बढ्ने र पर्यटकको बसाइ पाँच दिन लम्बिने देखेका छौं,’ अर्यालले भने । यसो भएमा पर्यटकको दैनिक खर्च औसतमा १५० अमेरिकी डलर हुने उनले बताए । ५० लाख पर्यटक भित्रिने र थप १० लाख जनालाई रोजगारी सिर्जना हुने उनको अनुमान छ ।

विश्वमा आरोग्य अर्थतन्त्र सन् २०२२ मा पाँच दशमलव ६ ट्रिलियन अमेरिकी डलर बराबरको रहेको उनले सुनाए । ग्लोबल वेलनेस इन्स्टिच्युटका अनुसार विश्वका १४३ देशमध्ये नेपाल आरोग्य अर्थतन्त्रको सूचकांकको ९१ औं स्थानमा रहेको अर्यालको भनाइ छ । सन् २०२२ मा नेपालमा आरोग्य अर्थतन्त्रको आकार २.०२ अर्ब अमेरिकी डलर बराबरको रहेको र आरोग्य पर्यटनलाई प्रवर्द्धन गरे यो आकार कैयौं गुणा बढ्ने उनले बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्रदेश सरकारले आरोग्य अवधारणा अनुरुप पर्यटन विस्तारको योजनाहरु बनाउ सुरु गरेको बताए । भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले प्रकृति, वन्यजीव, धार्मिक र सांस्कृतिक पर्यटन चितवनको पहिचान भएको हुँदा यसलाई आरोग्यसँग जोड्न तयार रहेको बताइन् । यो अवधारणालाई कार्यन्वयन गर्न तीनै तहको सरकार र निजी क्षेत्रले कार्ययोजना ल्याउनु पर्ने अर्यालको सुझाव छ । कान्तिपुर

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १८:१०
प्रतिक्रिया दिनुहोस्